मधेसका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग हुने चेतावनी दिएका रक्षामन्त्री शरतसिंह भण्डारीले राष्ट्रिय संवेदनशीलतामा ध्यान नदिएको आफ्नै लोकतान्त्रिकको ठहर

काठमाडौं  – राजधानी काठमाडौंबाट प्राप्त समाचार अनुसार पार्टीका बरिष्ठ नेता एवं रक्षामन्त्री शरतसिंह भण्डारीले आफ्नो बक्तब्यमा राष्ट्रिय संवेदनशीलतामा ध्यान नदिएको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले ठहर गरेको छ ।

भण्डारीको विवादास्पद अभिव्यक्तिबारे पार्टी धारणा सार्वजनिक गर्न बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने, ‘उहाँको बक्तब्यको भाषा र प्रस्तुति त्रूटिपूर्ण छ, सन्तुलित छैन ।’

अध्यक्ष गच्छदारले रक्षामन्त्रीको भनाइको आशय भने गलत नभएको टिप्पणी गरे । ‘मुलुकलाई समावेशी चरित्रको बनाउनुपर्छ भन्ने उहाँको आशय थियो,’ उनले भने, ‘यो कुरा आफैंमा आपत्तिजनक छैन ।’ पत्रकार सम्मेलनमा मन्त्री भण्डारी भने उपस्थित थिएनन् ।

मन्त्री भण्डारीले सोमबार राजधानीमा आयोजित साक्षात्कारमा मधेसीलाई विभेद गरिरहने हो भने मधेसका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग हुने चेतावनी दिएका थिए । ‘मधेसका २२ जिल्लाले अलग हुने निर्णय गरे कुन ऐन र कानूनले मुलुकलाई बचाउँछ ?,’ उनले भनेका थिए ।

रक्षामन्त्रीको भनाइको स्वयं सरकारको नेतृत्वकर्ता दल माओवादीको वैद्य समूह, प्रमुख प्रतिपक्षी कांग्रेस, एमालेलगायत सरकारलाई समर्थन गर्ने अधिकांश साना दललेसमेत विरोध गरिसकेका छन् । उनीहरुले मन्त्री भण्डारीलाई बर्खास्त गर्न प्रधानमन्त्री बाबुराम भट्टराईसँग माग गरेका छन् ।

राष्ट्रिय एकताको पक्षमा रहेको रक्षामन्त्रीको स्पष्टिकरण

यसैबीच रक्षामन्त्री शरतसिंह भण्डारीले आफू राष्ट्रिय एकताको पक्षमा रहेको स्पष्टिकरण दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले मिडियामा आएको कुरा असत्य भएको दाबी गर्दै आफू राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा प्रतिबद्ध रहेको बताए ।

मन्त्रिपरिषद् बैठकले पनि सरकार राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा अडिग रहेको प्रस्ट पार्दै भ्रममा नपर्न आग्रह गरेको सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।