काठमाडौं – पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले रक्षामन्त्री शरतसिंह भण्डारीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिंदा पनि प्रधानमन्त्री नबोल्नु आश्चार्यजनक भएको बताएका छन् ।
‘यस्तो गैरजिम्मेवार अभिव्यक्तिले राष्ट्रियतामा आघात पुगेको छ,’ भारतको उडिसास्थित कालिन्द विश्वविद्यालयको एक कार्यक्रममा भाग लिएर फर्कनेक्रममा बिहीबार त्रिभूवन विमानस्थलमा खनालले भने, ‘यस्तो अवस्थामा प्रधानमन्त्रीले सुनिरहनु चाँही आश्चार्यजनक छ ।’
मन्त्री भण्डारीले सोमबार राजधानीमा आयोजित साक्षात्कारमा मधेसीलाई विभेद गरिरहने हो भने मधेसका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग हुने चेतावनी दिएका थिए । उनको अभिव्यक्तिको एमालेले कडारुपमा भर्त्सना गर्दै रक्षामन्त्रीबाट बर्खास्त गर्न माग गरिसकेको छ ।
अध्यक्ष खनालले ४५ दिनभित्र शान्ति प्रक्रिया पूरा गर्ने भनाइलाई प्रधानमन्त्री बाबुराम भट्टराईले अपव्याख्या गरेकोमा आपत्ति जनाए । ‘४५ दिनभित्र शान्ति प्रक्रिया पूरा भएन भने म छोटो अवधिको प्रधानमन्त्री हुनेछु भनेर भन्नुभएको थियो, यसले सवैमा आशा पनि जगाएको थियो’ उनले भने, ‘तर अहिले जे जस्ता कुरा आएका छन्, शान्ति प्रक्रिया पनि ठप्पप्रायः छ ।’



