काठमाडौं – सरकार निर्माणको क्रममा प्रधानमन्त्री बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहालले पार्टी नीति विपरीत गरेको चार बुँदे सम्झौता खारेज नभए तेस्रो जनआन्दोलन गर्ने एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी सचिव सीपी गजुरेलले घोषणा गरेका छन् । गजुरेल उपाध्यक्ष मोहन वैद्य निकट हुन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा बिहीबार सचिव गजुरेलले बुधवारबाटै आन्दोलन सुरु भइसकेको र यसले छिट्टै तेस्रो जनआन्दोलनको रुप लिने दावी गरे । ‘राष्ट्रभन्दा ठूलो सरकार वा अरु केही हुँदैन त्यसैले राष्ट्रघाती चार बुँदे सम्झौता खारेज नहुँदासम्म आन्दोलन जारी रहन्छ,’ उनले भने ।
गजुरेलले लडाकुको हतियार राखिएको कन्टेनरको साँचो बुझाउने विवाद भन्दा ठूलो विषय राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तामाथि खतरा उत्पन्न गर्ने चार बुँदे सहमति भएको भन्दै त्यो पार्टीको घोषित नीतिको समेत विरुद्ध रहेको ठोकुवा गरे । उनले भने, ‘चार बुँदे खारेज नगर्ने हो भने पार्टीको घोषित नीति नै बदल्नु पर्छ,’ पार्टीको लाइन लागु गर्न सधैं विरोध गर्न पाइने उल्लेख गर्दै उनले भने, ‘चार बुँदे सहमति पार्टी निर्णय र लाइन विपरीत छ ।’
उनले रक्षामन्त्रीको पछिल्लो मुलुक टुक्र्याउने अभिब्यक्ति चार बुँदे सहमतिकै अन्तरवस्तु भएको भन्दै राष्ट्रिय अखण्ड राख्ने जिम्मेवारी पुरा नगर्ने सरकारको औचित्य नभएको दावी गरे । चार बुँदे सहमतिमा रहेको विवाद जारी रहे प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार नै नरहने ठोकुवा गरे ।
उनले रक्षामन्त्रीको पछिल्लो विवादित अभिब्यक्तिको विरुद्ध प्रधानमन्त्री भट्टराई र अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्ती निकालेर औपचारिक रुपमा विरोध गर्नु पर्नेमा ‘चुँ’ सम्म नबोलेकोमा आक्रोस ब्यक्त गरे ।



