
एमाले नेतृ साहना प्रधानको निवासमा ‘आज समकालिन इतिहासमा पुष्पलाल’ पुस्तकको विमोचन गर्दै खनालले प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रियामा शंका उत्पन्न भएको दाबी गरे । दलहरु शान्ति र संविधानमा एकमत नभएसम्म राष्ट्रिय सहमति बन्न नसक्ने खनालको भनाइ थियो । शान्ति प्रक्रिया अघि बढाउन सरकारले प्रतिपक्षी दलको मन जित्न नसकेको उनले उल्लेख गरे । खनालले मधेसका २२ जिल्ला छुट्टनि सक्ने रक्षामन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाए । राष्ट्रघाती अभिव्यक्ति दिने व्यक्तिलाई सरकारमा बस्ने अधिकार नभएको उनको भनाई थियो । रक्षामन्त्रीको भनाईप्रति उनकै पार्टी मधेसी जनअधिकार फोरमले समेत त्रुटी स्वीकारी सेको छ ।
गोविन्द ज्ञवालीद्वारा लिखित उक्त पुस्तकमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको योगदान समेटिएको छ । पुष्पलालका हितैषी ज्ञवालीद्धारा लिखित १ सय ४९ पृष्ठको पुस्तकमा नेपाली राष्ट्रिय कंग्रेसमा पुष्पलालको प्रवेश, दिल्ली सम्झौता, संयुक्त जनआन्दोलन लगायत २० वटा बिषय समेटिएका छन् ।
पुस्तक विमोचन गर्दै अध्यक्ष खनालले कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउनु लेखकको ऐतिहासिक दायित्व भएको उल्लेख गरे । एमाले उपाध्यक्ष वामदेव गौतमले आफू पुष्पलालको विचारबाट प्रेरित भएर कम्युनिष्ट आन्दोलनमा लागेको चर्चा गर्दै नेपालमा पुष्पलालले सोचे जस्तै समाजवाद छिट्टै स्थापना हुने धारणा राखे ।
मन्त्रीबाटै शान्ति सुरक्षामा खतराः खनाल
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले सरकारका मन्त्रीहरुबाटै शान्ति सुरक्षामा खतरा रहेको टिप्पणी गरेका छन् ।
एमाले ललितपुरले दसैं तिहारको अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष खनालले नयाँ सरकार बनेपछि राष्ट्रिय अखण्डतामा नै खतरा देखिएको दाबी गरे ।
‘नेपाली जनतामा शान्ति प्रक्रिया र संविधान निर्माण अगाडि बढ्न नसकेकोमा भन्दा शान्ति सुरक्षामा नै खतरा रहेको त्रास छ,’ उनले भने, ‘पछिल्लो समयमा राष्ट्रिय अखण्डतामा नै खतरा देखिएको छ ।’
अध्यक्ष खनालले सरकारका मन्त्रीहरु नै हत्या हिंसाको सहारा लिएको भन्दै सरकार बनेको एक महिनाभित्र शान्ति प्रक्रिया र संविधान निर्माणमा कुनै प्रगति नभएको ठोकुवा गरे । उनले भने, ‘माओवादीले जसरी आशा जगाएर सरकारमा गएको थियो, एक महिनामै जनतामा निराशा देखिएको छ ।’



