काठमाडौं – प्रमुख सत्तारूढ दल माओवादी र प्रमुख प्रतिपक्षी कांग्रेसबीच लडाकु समायोजनबारे अनौपचारिक वार्ता हुन थालेको छ । कांगेस संसदीय दलका नेता रामचन्द्र पौडेलले समायोजनका विषयमा उत्साहजनक छलफल भए पनि निष्कर्षमा पुगिनसकेको बताए ।
‘हाम्रो छलफल भइरहेको छ,’ उनले राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘उत्साहजनक कुरा भएको छ ।’ छलफलमा के कति प्रगति भयो र के कति विषयमा कुरा मिल्न बाँकी छ भन्नेचाहिँ उनले बताएनन् । लडाकु समायोजन सम्बन्धमा संख्या, मोडालिटी, नम्स, दर्जा निर्धारण र पुनःस्थापना तथा स्वैच्छिक अवकाशको प्याकेजमा दलहरूबीच छलफल भइरहेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि बिहीबार कांग्रेससँगको छलफल सहमतिनजिक पुगेको बताएका थिए । माओवादी र कांग्रेसका नेताबीच शुक्रबार पनि कुराकानी भएको थियो । बैठकमा सहभागी माओवादी पोलिटब्युरो सदस्य जनार्दन शर्माले भने, ‘छलफल चलिरहेका छ्न् । टुंगोमा भने पुगिसकिएको छैन ।’ उनले कांग्रेसको पुरानै अडान कायम रहेको पनि जनाए ।
कांग्रेस नेता रामशरण महतले छलफल राम्रो भए पनि नतिजा ननिस्केसम्म विश्वास गर्ने आधार नभएको बताए । ‘छलफल सकारात्मक रूपमा नै भएको छ । माओवादी नेताहरूले शान्ति प्रक्रिया यसरी टुंग्याउनुपर्छ भनेर बोलीवचनमा मीठोपन देखाउनु भएको छ । तर अडानमा फरकपन आएको छैन,’ महतले भने, ‘मुद्दाहरूमा गहिरिएर छलफल नभई नतिजा निस्कन लाग्यो भनेर अनावश्यक आशा देखाउन चाहन्न ।’ मीठो बोलीले मात्र नतिजा ननिस्कने कुरा विगतमा आफूहरूले भोगिसकेको उनले बताए ।
माओवादी स्थायी समिति बस्दै
लडाकुका हतियारको कन्टेनरको साँचो बुझाउने र मधेसी मोर्चाँसँग भएको चारबुँदे सहमतिबारे पार्टीमा उत्पन्न विवादमा छलफल गर्न आइतबार माओवादी स्थायी समिति बैठक बस्ने भएको छ । उपाध्यक्ष मोहन वैद्य पक्षले साँचो बुझाउने कार्य र चारबुँदे सहमतिको विरोध गर्दै आएको अवस्थामा बैठक बस्न लागेको हो ।
अध्यक्ष दाहाल शुक्रबार उपाध्यक्ष वैद्यको निवास गोंगबुमा गई पार्टी विवादबारे छलफल गरेका थिए । भेटमा उनले विवादित विषयमा छलफल गर्न आफूले स्थायी समिति बैठक बोलाउन लागेको बताएका थिए । वैद्यले भने स्थायी समितिभन्दा केन्द्रीय कमिटी बैठक बोलाउनु उपयुक्त हुने प्रतिक्रिया दिएका छन् ।
‘स्थायी समितिभन्दा केन्द्रीय कमिटी बैठक बोलाउनु उपयुक्त हुने मैले भने,’ उनले कान्तिपुरसँग भने, ‘केन्द्रीय कमिटीले छलफल गर्दा राम्रो हुन्छ ।’ दाहालले अन्तक्रिर्याबाट विवाद मिलाउन सकिने उल्लेख गर्दै दसैंका कारण केन्द्रीय समिति बैठक बसाल्न अप्ठ्यारो हुने भएकाले स्थायी समितिमा छलफल गर्न आवश्यक भएको बताएका थिए ।
माओवादीको १६ सदस्यीय स्थायी समितिमा वैद्य पक्षका पाँच जना छन् । कांग्रेस, एमालेसँग सेना समायोजनका विषयमा सहमति जुटे अध्यक्ष पक्षधरहरूले बहुमतबाट निर्णय गर्नसक्ने भएकाले वैद्य पक्षले केन्द्रीय समिति बैठकमा बढी जोड दिएका हु्न् ।
सरकारविरुद्ध वैद्य पक्षको मसाल जुलुस
रक्षामन्त्री शरतसिंह भण्डारीले ‘राष्ट्रघाती’ अभिव्यक्ति दिएको भन्दै आफ्नै पार्टीको नेतृत्वको सरकारविरुद्ध उपाध्यक्ष वैद्य समूहले शुक्रबार राजधानीका तीनै जिल्लामा मसाल जुलुस निकालेका छ्न् ।
वैद्य समूहका जनवर्गीय संगठनले राजधानीको रत्नपार्क, लगनखेल र भक्तपुरमा साँझ मसाल जुलुस निकालेको हो । जुलुसपछि रत्नपार्कमा बोल्दै पोलिटब्युरो सदस्य नारायण शर्माले ‘राष्ट्रघाती’ अभिव्यक्ति दिने रक्षामन्त्रीलाई नहटाँदा र चारबुँदे सम्झौता खारेज नगर्दासम्म मसाल जुलुससहितका विरोध प्रदर्शन जारी राख्ने बताए । वैद्य पक्षले सरकारमा सहभागी नहुने र सहयोग पनि नगर्ने नीतिअनुसार सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेका हुन् ।



