
– शान्ति प्रक्रियाका दुइ प्रमुख पक्षधरहरु एकीकृत माओवादी र नेपाली कांग्रेसबीच रहँदै आएको अविश्वास कम भएको बताइएको छ।
एकले अर्कालाई शान्ति प्रक्रिया र संविधान लेखनका लागि सबभन्दा ठूलो बाधक भन्ने चर्को आरोप लगाउँदै आएका दलहरु माओवादी र कांग्रेसबीच तीब्र रुपमा अनौपचारिक छलफल भइरहेको कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले बताएका छन्।

उक्त छलफलको आधारमा दशैं लगत्तै शान्ति प्रक्रियाबारे ठोस खाका बाहिर आउने अपेक्षा राखिएको उनले बताएका छन्।
पैँतालिस दिनमा शान्ति प्रक्रिया टुंग्याउने सार्वजनिक वाचा गर्दै प्रधानमन्त्री बनेका बाबुराम भट्टराईको सरकारले शनिबार पैँतिस दिन पुरा गरेपनि शान्ति प्रक्रिया ठप्प रहेकोमा बाहिर आलोचना बढ्दै गएको छ।

तर भित्रभित्रै शान्ति प्रक्रियाका प्रमुख दुइपक्षबीच छलफल र सम्पर्क ह्वात्तै बढेको बताइएको छ।
उनीहरुबीच सहमति बनिसकेको नभए पनि आशावादी हुन सकिने छनक कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दिएका छन्।

सिटौलाले भने, “विषय प्रवेश भएपनि सहमति बनिसकेको छैन। तर विश्वासको वातावरण बनेको छ अहिले। माओवादी कांग्रेस, माओवादी एमाले, कांग्रेस एमाले र मधेशी दलहरुसँग कुराकानी गर्ने सहमति भएको छ।”
सिटौलाका अनुसार शान्ति प्रक्रिया नटुंग्याइ संविधान लेखन लगायतका कुराहरु अगाडि नबढ्ने भएकाले अहिले शान्ति प्रक्रिया टुंग्याउनु मूल विषय भएको सबैले मानेका छन्।

फुलपातीदेखि दशैंको चारदिन आफुहरुबीच छलफल नचले पनि त्यस लगत्तै काम गरेर कुरा टुंग्याउने उनले बताए।




