लडाकुको भत्ता बृद्धि गर्ने र सर्वोच्च अदालतले सजाय सुनाईसकेका सभासद्को सजाय फिर्ता गराउने सरकारको निर्णयप्रति कांग्रेसले तीव्र आपत्ति

लडाकुको भत्ता बृद्धि गर्ने र सर्वोच्च अदालतले सजाय सुनाईसकेका सभासद्को सजाय फिर्ता गराउने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले तीव्र आपत्ति जनाएको छ ।

 

आज विहान सरकारले लडाकुको भत्ता बढाउने र सभासद् बालकृष्ण ढुंगेलको सजाय फिर्ताका पहल शुरु गर्ने निर्णय गरेको विषयमा कांग्रेस नेताहरुबीच आज दिउँसो सभापति सुशील कोइरालाको निवासमा छलफल भएको थियो । छलफलपछि कांग्रेस केन्द्रीय सदस्य एवं सेना समायोजन समितिका सदस्य डा. रामशरण महतले सेना समायोजन विषेश समितिमा समेत छलफलै नगरी लडाकुको भत्ता बढाउने निर्णय भएको भन्दै आपत्ति जनाउनुभयो ।

नैतिक धरातल गुमाई लङ्गडो भईसकेको सरकारले दूरगामी प्रभावका निर्णय गरेर जगत हसाउन खोजेको आरोप लगाउनु भयो । यस्तै कांग्रेस महामन्त्री कृष्ण सिटौलाले भ्रातृ संगठनहरुको विघटनपछि कांग्रेसमा उत्पन्न विवाद सभापति कोइराला र नेता शेरबहादुर देउवाबीच छलफल भएपछि समाधान हुने विश्वास ब्यक्त गर्नुभयो ।