सत्ता गठबन्धनमा आवद्ध दलद्धारा चार बुँदे सहमतिको विरोधलाई प्रतिवाद गर्ने निष्कर्ष

काठमाडौ – सत्ता गठबन्धनमा आवद्ध माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले चार बुँदे सहमतिको विरोधलाई प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ ।

माओवादी र मोर्चाबीच वर्तमान सरकार बन्नुअघि भएको चार बुँदे सहमतिलाई राष्ट्रघाती भनेर कतिपय दलले लगाएको आरोपको प्रतिवाद गर्ने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवका अनुसार बैठकमा चार बुँदे सहमतिको कसरी रक्षा गर्ने र यसमाथि उत्पन्न प्रतिक्रियालाई जोडदार प्रतिवाद गर्ने भन्ने विषयमा नेताहरुको समान धारणा रहेको बताए । उनले बैठकमा सरकारको गतिविधिबारेमा पनि आपसी विचार विमर्श भएको जानकारी दिए ।

बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री तथा सो पार्टीका उपाध्यक्ष डा.बाबुराम भट्टराई, मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको यादवले बताए । रासस