यो बर्षको दसैंको टीकाको साइत १०:३५ बजे

काठमाडौं – यो वर्ष विजया दशमीमा टीका लगाउने शुभसाइत असोज १९ गते बिहीबार १० बजेर ३५ मिनेट जुरेको छ । गृह मन्त्रालयले पञ्चाङ्ग निर्णायक समितिबाट लिखित जानकारी लिई बिहीबार साइत र तिथिमिति सार्वजनिक गरेको हो ।


मन्त्रालयका अनुसार असोज १४ गते शनिबार पचली भैरवको यात्रा हुनेछ । त्यस्तै, देशभरिका राष्ट्रिय झन्डा ११ बजेर ५५ मिनेटको साइतमा पश्चिम मोहडा फर्किएर फेर्नुपर्नेछ । कम्पाउन्ड हाता र आँगनमा राष्ट्रिय झन्डा राख्न पाउने हरेक कार्यालयले यो साइतमा नयाँ झन्डा अनिवार्य फेर्ने प्रचलन छ । मन्त्री, मन्त्रालय, चारै सुरक्षा निकायका मुख्यालय र मातहतका कार्यालय, अदालत लगायत कार्यालय हातामा राष्ट्रिय झन्डा राख्ने गरिन्छ ।


असोज १६ गते फूूलपाती, श्री तुलजा भवानी यात्रा बिहान ९ बजेर २७ मिनेटमा र स्थिरासन बिहान १० बजेर ३ मिनेटमा रहेको छ । त्यस्तै, असोज १७ गते मंगलबार महाअष्टमी, कालरात्री र १८ गते बुधबार महानवमी मनाइनेछ । १९ गते बिहीवार बिहान ९ बजेर ४५ मिनेट साइतमा देवी विर्सजन गरेर १० बजेर ३५ मिनेटको साइत टीका लगाउने उत्तम मानिएको छ । समान्यतया देवीको प्रसादको रूपमा लगाइने टीका दिनभर पनि लगाउन कुनै बाधा व्यवधान नभएको मन्त्रालयले जनाएको छ ।


विजया दशमीकै दिन तुलजा भवानी यात्रा दिनको १२ बजेर २७ मिनेटमा र स्थिरासन १२ बजेर ५९ मिनेटमा रहेको छ । सोही दिन खड्गयात्राको पनि साइत परेको छ । मन्त्रालयले गरेको परिपत्र अनुसार असोज २३ गते सोमबार अखिलबलिपूर्ति र २४ गते कोजाग्रत व्रत परेको छ ।


रा स स