काठमाडौ – शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति ढिलाइले ४० हजार शिक्षकको पदोन्नति रोकिएको छ । बढुवा नहुँदा उमेर हदका कारण कतिपय शिक्षकले पदोन्नति नपाई अवकाश लिएका छन् । शिक्षामन्त्रीसमेत नभएकाले स्थिति अझ अन्योलमा छ ।
चार महिनादेखि आयोगको अध्यक्ष पद रिक्त छ । तात्कालीन अध्यक्ष उदयराज सोतीको चारवर्षे पदावधि सकिएपछि रिक्त बनेको हो । शिक्षक संघ र संगठनले सरकारले तत्काल अध्यक्ष नियुक्ति गर्न नसके बहाल रहेका दुई सदस्यमध्ये जेष्ठ सदस्यलाई काम गर्ने अख्तियारी दिन माग गरेका छन् ।
‘तत्काल सेवा आयोगको अध्यक्ष नियुक्ति हुनुपर्यो,’ शिक्षक संघका अध्यक्ष मोहन ज्ञवालीले भने, ‘नियुक्ति नभएको खण्डमा भएका दुई सदस्यमध्ये जेष्ठलाई काम गर्ने अख्तियार दिन जरुरी छ । र, एकचोटि पनि पदोन्नति नभएका हजारौं शिक्षकलाई पदोन्नति दिइयोस् ।’
शिक्षा ऐन र नियमावलीअनुसार अख्तियारी दिने अधिकार महान्यायाधिवक्ताको कार्यालयले मात्र दिनसक्छ । निजामती कर्मचारीसरह स्थायी शिक्षकले सामूहिक पदोन्नति पाउने भए पनि कार्यान्वयन नहुँदा चालीस हजारभन्दा बढीलाई प्रभाव परेको राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले उल्लेख गरे । ‘नियमानुसार एकपटक पनि पदोन्नति नपाएका धेरै शिक्षक छन्,’ उनले भने, ‘हामीले शिक्षा मन्त्रालयदेखि सरोकार राख्ने सबै निकायको ध्यानाकर्षण गराउँदै आयौं तर सुनवाइ भएन ।’
कानुनतः उमेरले ६० वर्ष पूरा गरेका शिक्षकले अनिवार्य अवकाश पाउँछन् । शिक्षकले अवकाशअघि एक तह पदोन्नति पाउँछन् । तर सरकारको ध्यानाकर्षण नभएकाले अहिलेसम्म नियुक्ति हुन सकेको छैन ।
शिक्षा विभागको तथ्यांकअनुसार देशभरिमा १ लाख ९ हजार शिक्षक दरबन्दी रहेको छ । जसमध्ये प्राथमिक तहमा ८० हजार १ सय ७६, निमाविमा १६ हजार २ सय २४ र माविमा १२ हजार ७ सय १८ रहेका छन् ।
शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले अध्यक्ष नभएपछि आयोगको प्रक्रिया रोकिएको उल्लेख गरे । ‘अध्यक्ष छिटो नियुक्तिका निम्ति सरकारको ध्यानाकर्षण गराएका छौं,’ शिक्षामन्त्री नियुक्तिलगत्तै प्रक्रिया अघि बढ्न सक्ने उल्लेख गर्दै भने, ‘कुरो अघि बढेको छ । दसैंपछि अध्यक्ष नियुक्ति हुनेछ ।’
त्यसैगरी २५ हजारको हाराहारीमा अस्थायी दरबन्दी रिक्त छ । तीन वर्षदेखि रिक्त दरबन्दीमा पदपूर्तिसमेत हुन सकेको छैन । शिक्षा ऐन संशोधन हुन नसक्दा प्रक्रिया रोकिएको हो ।



