प्रधानमन्त्री भट्टराईद्धारा सार्वजनिक यातायातका क्षेत्रमा सर्वसधारणले भोग्नु परेको समस्या नियन्त्रण गर्न निर्देशन

काठमाडौ – प्रधानमन्त्री बाबुराम भट्टराईले सार्वजनिक यातायातका क्षेत्रमा सर्वसधारणले भोग्नु परेको समस्या नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सार्वजनिक यातायातका साधनले यात्रुहरुबाट मनपरी भाडा असुल गरेको तथा चाडवाडका बेला टिकटको कालो बजारी गरेको गुनासो आएपछि प्रधानमन्त्रीले श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव डा. रामहरी अर्याललाई त्यसको नियन्त्रणका लागि निर्देशन दिएका हुन् ।

बस तथा जीप काउन्टरहरुमा सरकारले तोकेको भाडा दर सूची नराखिएको तथा यात्रुहरुबाट चर्को भाडा असुलेको गुनासो आएपछि प्रधानमन्त्री भट्टराईले बस तथा जीप काउन्टरको अनुगमन गर्न समेत निर्देशन दिएका छन् । प्रधानमन्त्रीले यात्रुहरुबाट चर्को भाडा असुल्नेलाई तत्काल कारवाही गर्न पनि निर्देशन दिएको उनका सहयोगी विश्वदीप पाण्डेले बताए ।

चर्को भाडा असुलेको पाइएमा तत्काल सम्बन्धित निकायमा खवर गर्नका लागि सार्वजनिक नम्बरको व्यवस्था गर्न पनि प्रधानमन्त्रीले भनेका छन् ।

त्यस्तै राजमार्गका होटलहरुमा अनुगमन गरिए पनि ती होटलहरुमा सुधार नभएको तथा ग्राहकहरुलाई ठग्ने प्रवृत्ति नरोकिएको गुनासो आएपछि प्रधानमन्त्री भट्टराईले त्यस्ता व्यापारीलाई कारवाही गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।

राजमार्गका होटलहरुमा हुने ठगीको विषयमा टेलिफोन मार्फत तत्काल जानकारी गराउन प्रधानमन्त्रीको निजी सचिवालयको टेलिफोनमा सम्पर्क गर्न आग्रह गरिएको छ । यात्रुहरुसाग बढी भाडा असुलेको पाइएमा वा कुनै पनि जनसरोकारका ठाउामा हुने ठगिका विषयमा प्रधानमन्त्रीको निजी सचिवालयको टोल फि्र नम्बर ११११ र स्वकीय सचिवालयको मोवाईल नम्बर ९८४१४९३६८७ मा तत्काल फोन गरी जानकारी गराउन भनिएको । ठगीको जनाकारी हुनासाथ तत्काल कारवाही प्रक्रिया अघि बढाईने नीजि सचिवालयले जनाएको छ ।