– सत्ताको नेतृत्वकर्ता माओवादीभित्रैबाट विरोध खेपिरहेको सरकारले आफ्नो वाचा पुरा नगरेको भन्दै कांग्रेसले चर्को असन्तुष्टि जनाएको छ।
पैंतालिस दिन पुरा गर्न लागेको सरकारले आफ्नो वाचा अनुरुप केही काम नगरेको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले चर्को असन्तुष्टि जनाएको छ।
कांग्रेस तुलनात्मक रुपमा अघिल्ला भन्दा वर्तमान सरकारप्रति सहष्णु जस्तो देखिएको थियो।
तर कब्जा सम्पत्ती फिर्ता गर्ने सरकारी घोषणाको उल्टो माओवादी कार्यकर्ताले बेच्न थालेका समाचारहरु आउन थालेपछि माओवादीभित्रैबाट अवरोध खेपिरहेको सरकारप्रति कांग्रेसले असन्तुष्टि पोखेको हो।
उक्त दलका उपसभापति रामचन्द्र पौडेलले भने, ” सम्पत्ती फिर्ताको कुरा मात्र भयो, शान्ति सम्झौता अनुसार केही काम भएन।”
शान्ति र संविधानको मुद्दामा कांग्रेस र एमालेबाट असहयोग भएको सरकारको आफ्नै गुनासो छ।
पौडेलका अनुसार बरु शान्ति र संविधानको लक्ष्य पुरा गर्न माओवादी सहित अन्य दलहरुसँग अव लगातार वार्ता गर्ने कांग्रेसको योजना छ।
पौडेल र माओवादी उपाध्यक्ष मोहन वैद्य खेमाका एकजना वरिष्ठ नेताबीच हालै छलफल भएको थियो।
त्यसैलाई लिएर माओवादीभित्रै एउटा खेमा र विपक्षीबीच सरकार विरुद्ध अघोषित सहकार्यको चर्चा पनि चलिरहेको छ।
तर छलफलमा आफूले शान्ति र संविधानमा सहयोग गर्न उनीहरुलाई आग्रह गरेको पौडेलले जनाए।
प्रधानमन्त्रीले पैंतालीस दिनभित्र शान्ति प्रकृयालाई निर्णायक चरणमा पुर्याउने बताए पनि त्यो यतिवेला अवरुद्ध देखिन्छ।



