काठमाडौ – प्रधानमन्त्री बाबुराम भट्टराईसँग सहिद, घाइते तथा बेपत्ता नागरिकका परिवारले मंगलबार भेट गरी बेपत्ता नागरिक खोजबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न माग गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुले सरकारले शान्ति सम्झौताको मर्मअनुरुप अहिलेसम्म पनि ती आयोग गठन नभएको गुनासो गरे ।
प्रधानमन्त्री भट्टराईले द्वन्द्वका क्रममा भएका मानव अधिकारको उल्लङ्घन गर्नेहरुलाई कारबाही गर्न सरकार तयार रहेको राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष एकराज भण्डारीले बताए ।
गणतन्त्रको स्थापना गर्नका लागि सहिदले बगाएको रगतको मूल्य कुनै पनि हालतमा खेर जान नदिने बताउँदै प्रधानमन्त्री भट्टराईले सहिद तथा तिनका आश्रित परिवारलाई राज्यका तर्फबाट उचित राहतको व्यवस्था गरिने जानकारी गराएको भेटमा सहभागी भण्डारीले बताए ।
भण्डारीका अनुसार प्रधानमन्त्रीले राजनीतिक दलहरुका बीचमा सहमति हुन नसक्दा बेपत्ता खोजबिन आयोग र सत्य निरुपण आयोग बन्न नसकेको बताएका छन् ।
सरकारले राहतमा समानता कायम गर्ने उद्देश्य अनुरुप प्रत्येक वर्ष राहत रकममा वृद्धि गर्दै गएको र यो क्रम निरन्तर अगाडि बढ्ने प्रधानमन्त्रीले बताए । हामीले एकमुष्ठ रकम उपलब्ध गराउन माग गर्यौं, सभासद समेत रहेका भण्डारीले जानकारी दिए । सहिद परिवारको तर्फबाट भेटमा सहभागी तक्मा केसीले गणतन्त्र स्थापना भएपछि चारवटा सरकार बने पनि सहिद परिवारलाई कुनै राहत नदिएको भन्दै आपत्ति प्रकट गरे ।



