सिन्धुलीको पुरानो झाँगाझोली रिठ्ठेभिरवाट सुनकोशी नदीमा वस खस्दा मृत्यु भएकाहरुको शोकमा आज सिन्धुलीवजार वन्द गरिएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा उद्योग वाणिज्य संघ सिन्धुलीले वनार वन्द गराएको हो । विहानैदेखि सिन्धुलीको कमलामाई नगरपालिका र वर्दिवास लगाएतका मुख्य वजार विहानैदेखि ठप्प छन् ।
सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना ३ ख ९४१२ नम्वरको यात्रुबस सिन्धुलीको झाँगाझोली गाउँ विकास समिति सितलपाटीस्थित रिठ्ठे भीरबाट सुनकोशी नदीमा खस्दा कम्तिमा ४३ जनाको मृत्यु भएको थियो ।
उद्धारमा संलग्न स्थानियबासिन्दाका अनुसार शव भेटिएका ४३ जना मध्ये ३० पुरुष र १३ महिला छन् । बसमा ८० भन्दा बढी यात्रु रहेका र बसको छतमा रहेका केही यात्रु हाम फालेर ज्यान जोगाउन सफल भएका थिए ।