पार्टी फुट्ने स्थिति आए पनि शान्ति र संविधानका लागि सरकार पछाडि नहट्ने स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीको भनाई


 

– अमृता अनमोल

 

बुटवल – स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र ध्रुवीकरण हुने र पार्टी फुट्ने स्थिति आए पनि शान्ति र संविधानका लागि बाबुराम भट्टराई नेतृत्वको सरकार पछाडि नहट्ने बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको ५७ साधारणसभा तथा अधिवेशन उद्घाटन गर्दै कार्यक्रममा माओवादी स्थायी समिति सदस्यसमेत रहेका नेता रायमाझीले युद्धको धङधङी नमेटिएकाले मशाल जुलुस निकाल्ने र राँके जुलुस बाल्दैमा शान्ति र संविधानको महान् बाटो छोडेर उनीहरु सामु सरकार नझुक्ने दावी गरे ।

युद्धकालमा पाटीभित्र विवाद चर्किँदा मर्ने मार्ने सम्मका घटना हुँदा पनि आफूहरु विचलित नभएको भन्दै उनले राँके जुलुस बाल्नेहरुसँग मिल्न नसके ध्रुवीकरण गरेर भएपनि शान्ति र संविधानको कार्यभार पुरा गर्ने जिकिर गरे ।

बाबुराम प्रधानमन्त्री भएपछि शान्ति र संविधान अघि बढ्नेमा धेरै राष्ट्रिय र अन्तराष्ट्रिय विद्वतवर्गहरुले आशा पालेको बताउँदै नेता रायमाझीले त्यो आशालाई मर्न नदिन वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउन र दलीय सहमति जुटाउन आफूहरुले जस्तोसुकै त्याग गर्ने बताए ।

मन्त्री रायमाझीले सरकार बनेको २-३ महिना नपुग्दै ढाल्ने खोज्न प्रयत्न सुरु भएकोमा रोष प्रकट गरे । उनले सरकार बनाउने र ढाल्ने संस्कृति बन्द गर्नुपर्नेमा जोड दिए ।