प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो भारत भ्रमणको तयारी तीब्र पार्नुभएको छ । उहांले भ्रमणको क्रममा भारतीय पक्षसंग गरिने कुराकानीको क्रममा उठाईने विषयबारे राजनीतिक दलका नेता र पराष्ट्रविद्हरुसंग परामर्श गर्ने क्रम जारी राख्नु भएको बालुवाटार स्रोतले जनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग आज विहान भएको भेटमा पर्सीदेखि हुने भारत भ्रमणको एजेण्डाबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्रीले भारत भ्रमणको एजेण्डाबारे. आजै सर्वदलीय बैठकमा छलफल गर्दै हुनुहुन्छ । विज्ञहरुले भारत भ्रमणको क्रममा कुटनीतिक परिपक्कताकासाथ प्रस्तुत हुन प्रधानमन्त्री भट्टाराइलाई सुझाव दिएका छन् ।
हिजो राजधानीमा भएको कार्यक्रममा विज्ञहरुले नेपाल भारतबीचको सिमा सुरक्षा र सीमा विवाद समाधानमा देखिएका समस्या समाधानका लागि ठोस सहमतिमा पुग्नुपर्नेमा जोड दिएका हुन् । विगतमा गरिएका असमान सन्धिहरु खारेज गर्नु पर्ने र नयाँ आधारमा सम्बन्ध विकासका आधारहरु खोज्नुपर्ने सुझाव दिएका हुन् ।
उनीहरुले भारतले एक पक्षिय रुपमा बनाएका बाँध र तटबन्धहरुले नेपाली जनतालाई समस्या भएको भन्दै त्यस्ता बाँध र तटबन्ध भत्काउनुपर्ने वताएका थिए । उनीहरुले पेट्रोलियम पदार्थ खरिदबारे पनि नयाँ सम्झौता गर्नुपर्नेमा जोड दिएका थिए ।