भारतीय सर्कसमा बिक्री गर्न लैजादै गरिएका उदयपुरका चार बालकको उद्धार

– डिल्लीराम खतिवडा

 

उदयपुर  – राम्रो रोजगारीको प्रलोभन देखाएर भारतीय सर्कसमा बिक्री गर्न लैजादै गरिएका तावश्री गाविसका चार बालकको दुई दिनअघि उद्धार गरिएको छ ।

काममा लगाईदिने भन्दै भारतमा बिक्री गर्न लाँदै गरेको अवस्थामा सिराहा प्रहरीले उद्धार गरी घर फर्काएको इलाका प्रहरी कटारीका प्रहरी निरिक्षक अनिल पौडेलले वताए ।

सिराहा र भारतको सिमावती क्षेत्रबाट तावाश्रीका १३ वर्षीया देववहादुर तामाङ, अनिल परियार, १४ वर्षीय अर्जुन परियार र श्यामकुमार तामाङको उद्धार गरिएको पौडेलले वताए । उनीहरुलाई तावाश्री ७ का ६३ वर्षीय अजितमान तामाङ, तावाश्री ९ का ३५ वर्षीय पिउर परियार र २८ वर्षीय तेज वहादुर परियारले भारततर्फ लागेको प्रहरीले जनाएको छ । उद्धार गरिएका बालकहरुलाई ईलाका प्रहरी कार्यलय कटारी हुदै रिस्कु प्रहरी चौकीबाट सोमबार घर पठाइएको प्रहरी निरक्षक पौडेलले वताए ।

बालक बिक्री गर्न लाँने तीनै जना भने फरार रहेको प्रहरीले जनाएको छ । फरारको खोजी भईरहेको प्रहरी निरीक्षक पौडेलले वताए । फरार तीन जना यसअघि पनि बालबालिकाको बिक्रीमा संलग्न रहेको प्रहरीले आशंका गरेको छ । जिल्लाको तावाश्री, हर्देनी, शिरिसे, इनामे, मंयखु क्षेत्रमा बालबालिकालाई मिठो खाने, राम्रो लाउने र कमाउने लोभ देखाउँदै बालबालिकालाई भारतीय शहरमा होटल मजदुर, घरेलु कामदार र सर्कसमा बिक्री गर्ने गरेको स्थानीयले वताए ।