नेपाली सेनाको विमान दुर्घटना Developing News

नेपालगन्जबाट काठमाडौंका लागि विरामी लिएर आएको नेपाली सेनाको आइल्याण्डर विमान मंगलबार साँझ दुर्घटनाग्रस्त भएको छ ।


सेनाका सहायक प्रवक्ता महासेनानी कुवेर थापाले दिएको जानकारी अनुसार सेनाको आरएएन ४९ बीएन २ टी विमान साँझ ७ बजेर ६ मिनेटदेखि सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन विमान बागलुङको बोवाङ ९ ढोरपाटनमा साँझ सवा ७ बजेतिर दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ । नेपाली सेनाले भने कुन स्थानमा दुर्घटना भएको पुष्टि गरेको छैन ।


विमानमा चालक र चिकित्सकसहित ६ जना सदस्य रहेको प्रवक्ता थापाले जानकारी दिए । उनका अनुसार सेनामा कार्यरत केशवसिंह ऐरी विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइँदै थियो । विमानमा उनका दाजु रामसिंह ऐरी, विमान चालक क्या. दिवाकर कार्की, विशालसिंह राठौर, डा. रविता पाठक र मिलन गोतामे थिए ।


विमान दुर्घटनाको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । स्थानीयवासीले विमानमा आगो लागेको देखेको जानकारी दिएका छन् ।


घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । स्थानीयले विमानमा आगो लागेको देखेको बताएका छन् ।