सात वटा शिविरको विवरण बुझ्न प्राविधिक समितिलाई पठाइने

काठमाडौं, ३ कात्तिक (ओएनएस) : सेना समायोजन विशेष समितिले माओवादी लडाकूहरु बसिरहेका सात वटा शिविरमा पुगी विवरण संकलन गर्न प्राविधिक समितिलाई पठाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको विशेष समिति बैठकलले सेनाको पुनः गणनाका लागि समितिलाई पठाउने निर्णय गरेको हो ।

 
बैठकमा सहभागी एमाले नेता एवं समिति सदस्य भीम रावलले अनमिनले गरेको गणनाअनुसार सेनाको संख्या शिविरमा छ/छैन, उनीहरु के कस्तो अवस्थामा छन् र के चाहन्छन् भन्नेबारे बुझ्न समितिलाई पठाउने निर्णय भएको बताए । 
 
यसबीच सहमतिका लागि थप गृहकार्य गर्न माओवादीका वर्षमान पुन, कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेका भीम रावल सम्मिलित कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणबाट फर्किएपछि सेना समायोजन प्रक्रिया सहमतिमा पुग्ने विश्वास कार्यदलले व्यक्त गरेको छ ।