करिब २५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको सर्वेक्षण

करिब २५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको एक सर्वेक्षणले देखाएको छ । केन्द्रिय तथ्यांक विभागले बिहिबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण तेस्रोले २५ प्रतिशत अर्थात ६६ लाख जनता गरिबीको रेखामुनी रहेको जनाएको हो । सर्वेक्षणमा वार्षिक १९ हजार २ सय रुपैयाँ भन्दा कम उपभोग गर्ने व्यक्तिलाई गरिबीको रेखामुनी राखिएको छ । गरिबीको रेखामुनी पर्नेमा शहरी क्षेत्रका १५ र ग्रामीण क्षेत्रका २७ प्रतिशत मानिसहरु परेका छन् । यसमध्ये गरिबीको रेखामुनी भन्दा टाढा ५ दशमलब ४३ प्रतिशत रहेका छन् भने गरिबहरुबीचको असमानता १ दशमलब ८१ प्रतिशत रहेको पनि जनाइएको छ ।



सूदुर पश्चिमाञ्चल विकास क्षेत्रमा गरिबीको दर, विषमता र गहनता सबैभन्दा उच्च रहेको जनाइएको छ । गरिबीले सबैभन्दा बढि हिमाली क्षेत्र ग्रस्त रहेको जनाइएको छ । भौगोलिक क्षेत्र अनुसार हिमाली क्षेत्रमा सबैभन्दा बढि ४२ प्रतिशत गरिबी रहेको छ । पहाडमा र तराईमा समान २४ प्रतिशत गरिबीको अवस्था बढि विषम र सघन रहेको सर्वेक्षणमा औल्याइएको छ । महिला परिवारमूली भएको घरपरिवारको गरिबी दर तुलनात्मक रुपमा केहि कम रहेको पनि सर्वेक्षणले जनाइएको छ । सर्वेक्षणमा कृषि क्षेत्रको ज्यालादारीमा लागेका परिवारमूली भएका घरपरिवारहरु अन्य क्षेत्रको ज्यालादारीमा लागेका परिवारमूली भएका परिवारहरुको तुलनामा बढि गरिब देखाइएको छ ।



प्रतिदिन प्रतिव्यक्ति २२ सय किलो क्यालोरी प्राप्त गर्ने व्यक्तिलाई गरिबीमापनको आधार मानिएको थियो । हाल धनी र गरिबबीचको उपभोगमा गरेको खर्च असमानता घट्दै गएको पनि सर्वेक्षणमा देखाइएको छ । सर्वेक्षणमा उपभोग, आय, आवास, सार्वजनिक सुविधामा पहुँच, शिक्षा, स्वास्थ्य, रोजगार, विप्रेक्षण र मानवमापनका विषयहरु समावेश गरिएको विभागले जनाएको छ ।