अब फेरि संविधान सभाको म्याद थप्न नदिने उद्धेश्यले आन्दोलनका कार्यक्रम घोषणा

विभिन्न ६ वटा साना दलले अब फेरि संविधान सभाको म्याद थप्न नदिने उद्धेश्यले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । थरुहट तराई पार्टी, नेपाल देशभक्त पार्टी, तमुवान राष्ट्रिय परिषद्, राष्ट्रिय तामाङ एकता मञ्च, खसान राष्ट्रिय परिषद् र नेपाल देशभक्त राष्ट्रिय युवा बलले आज चितवनको भरतपुरमा संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।


कार्यक्रम अनुसार कात्तिक महिनाभर प्रधानमन्त्री र मुख्य राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाउने, राष्ट्रसंघ तथा विभिन्न देशका दूतावासहरुलाई आन्दोलनबारे जानकारी गराउने, भित्ते लेखन तथा प्रचार प्रसार गरिने छ ।


मंसिर ३ र ४ गते सार्वजनिक गोलमेच सम्मेलन गर्ने, ६ गते सांझ मसाल जुलुस निकाल्ने र ७ गतेदेखि अनिश्चितकालीन आमहड्ताल लगायतका कार्यक्रम ती पार्टीहरुले सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा थरुहट तराई पार्टीका अध्यक्ष लक्ष्मण थारुले ठूला दलहरुको तानाशाही विरुद्ध संगठीत भएको बताउनुभयो ।