गैँडाको खाग तस्करीमा संलग्न रहेको अभियोगमा सात पक्राउ

चितवन, ४ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जले चितवनको माडी र त्रिवेणीबाट दुर्लभ एक सिङ्गे गैंडाको खाग तस्करीमा संलग्न रहेको अभियोगमा सातजनालाई नियन्त्रणमा लिएको छ ।
माडीबाट पाँच र त्रिवेणीबाट एक महिलासहित दुईजनालाई नियन्त्रणमा लिइएको निकुञ्ज प्रशासनले जनाएको छ । त्रिवेणीबाट प्युठान स्थायी घर धएका महेश्वर केसी र एक महिलालाई चार लाख नेपाली र तीन लाख भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको त्रिवेणी प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धानका उनीहरुलाई निकुञ्ज कर्मचारीको जिम्मा लगाइएको त्रिवेणी प्रहरीले जनाएको छ ।
माडीबाट पक्राउ परेकाहरुको भने परिचय खुलाइएको छैन । खाग तस्करीमा ठूलै समूह संलग्न भएको आशंकामा पक्राउ परेकाहरुको नाम ठेगाना नखुलाइएको निकुञ्ज स्रोतले जनाएको छ । निकुञ्जले पक्राउ परेकाहरुको गैंडाको खाग तस्करी र बिक्रीवितरणमा आफ्नो संलग्नता स्वीकार गरिसकेको र उनीहरुलाई उपर्युक्त समयमा सार्वजनिक गरिने बताएको छ ।