बन्दको कारण विहानैदेखि धरानको जनजीवन प्रभावित भएको छ । बन्दले तिहारमा चाहिने आवश्यक सामाग्री धरानको बाटो भएर धनकुटा, तेह्रथुम, संखुवासभा लैजान नपाइएको यातायात व्याबसायीहरुले बताएका छन् ।
धरान- १७ रेल्वेलाइन बस्ने युवाहरु योगेन राई, कुमार राई र राजकुमार राईलाई विना कारण पक्राउ गरि निर्घात कुटपुट गरेकेा भन्दै तरुण दलले बन्दको आह्वान गरेको हो । आरोपित तीन जनाले गत भदौ ५ गते एमाले निकट युवा संघका २० बषर्ीय कार्यकर्ता सुरेन बस्याल माथि कट्टी प्रहार गरी फरार रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताहरुले भने आफ्ना कार्यकर्ताको विना सर्त रिहाइ गर्नु पर्ने र यातना दिने प्रहरीलाई कारबाहीको माग गरेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी राजेन्द्र विष्टले पक्राउ परेका तीन जनालाई छुटाउन राजनिनिक दवाव आएपनि अभियुक्तहरुले अपराध स्विकारेको बयान दिइसकेकोले कारवाही अगाडि बढीसकेको बताए ।
यातायात बन्दको कारण दीपावलीको पूर्व सन्ध्यामा स्थानीय उपभोक्ता र व्याबसायी, व्यापारीहरुको किनमेल र विक्रिवितरण प्रभावित भएको छ । बन्दकर्ताहरुले सार्वजनिक सवारी साधन र ढुवानी वन्द गरेर वजार भने खुल्ला रहने जनाएपनि यातायात नै नचलेकाले सामान ढुवानी गर्न नसक्दा दीपावलीको लागि धरानमा चाहिने सामाग्री ल्याउन नसकेको व्याबसायीहरुले बताएका छन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र न १ का सचिव सुजेन्द्र तामाङले प्रहरीले विनाकारण तरुणदलका कार्यकर्ता पक्राउ गरेर फसाएकोले बन्दको आव्हान गरेको बताए ।



