काठमाडौं – पार्टी म्यान्डेट विपरीत भारतमा द्विपक्षीय लगानी प्रवर्द्धन एवं संरक्षण (बिपा) सम्झौता गरेको विरोधमा माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री त्रिभूवन विमानस्थल बाहिर माओवादी वैद्य समूह र जनमोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । माओवादी शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीका अनुसार आइतबार बसेको १५ जनवर्गीय संगठनको बैठकले प्रधानमन्त्रीविरुद्ध कालोझण्डा देखाउने निर्णय भएको जानकारी दिए ।
बिपा सम्झौताको विरोध गर्दै भण्डाफोर अभियान सुरु गर्ने निर्णय वैद्य समूहले यसअघि नै गरेको थियो । सम्झौताबाट भारतीय हस्तक्षेपलाई खुलमखुला प्रवेश गराएको वैद्य समूहको बुझाइ छ । चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री बाबुराम भट्टराई आइतबार साँझ पौने ६ बजे स्वदेश फर्कंदैछन् ।
३७ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै बिहीबार नयाँदिल्ली गएका प्रधानमन्त्री भट्टराईलाई सञ्चार तथा प्रविधि राज्यमन्त्री सचिव पाइलटले ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । उनलाई स्वागत भने भारत सरकारका शिष्टाचार महापाल रुचिरा काम्बोज, नेपाली राजदूत जयन्तप्रसाद र नेपाल हेर्ने डेस्कका सहसचिव अखिलेश मिश्राले गरेका थिए ।
स्वदेश फर्केपछि प्रधानमन्त्रीले साँझ साढे ५ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी दिने उनको निजी सचिवालयले जनाएको छ ।
यसैबीच भारत भ्रमणको अन्तिम दिन प्रधानमन्त्री भट्टराई आइतबार उत्तराखण्ड पुगेका थिए । एयर इण्डियाको विशेष विमानबाट हरिद्वार गएका उनले हैदरवादस्थित विभिन्न उद्योग प्रतिष्ठानको अवलोकन गरे ।
आइतबार नै प्रधानमन्त्री भट्टराईले उत्तराखण्डका गर्भनर श्रीमती मार्गरेट अल्मासँग भेट गरे । उनको सम्मानमा मार्गरेटले आयोजना गरेको दिवाभोजमा पनि प्रधानमन्त्री सहभागी भएका थिए ।



