देउसीभैलो खेल्न आउने समूहलाई एक सय रुपैयाँ मात्र (बढी दिन चाहेमा गोप्य खाममा)


 

स्याङ्जा -स्याङ्जा  जिल्ला प्रशासन कार्यालयले देउसीभैलो खेल्न आउने समूहलाई एक सय रुपैयाँभन्दा बढी नदिन निर्देशन गरेको छ । देउसीभैलो खेलेर रकम संकलन गरी परम्परालाई भड्किलो बनाएको भन्दै प्रशासनले यस्तो आदेश गरेको हो ।

प्रशासनले एक सयभन्दा बढी रकम नदिन स्थानीयबासीहरूलाई आग्रह गर्दै बढी दिन चाहेमा गोप्य खाममा राखेर दिन अनुरोध गरेको हो । प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले देउसीभैलो कार्यक्रमले कसैलाई पनि अप्ठेरो नपरोस् भनेर यस्तो आग्रह गरिएको बताए । ‘यसले संस्कृतको जर्गेनालाई सहयोग पुग्छ,’ उनले भने ।

यसैगरी प्रशासनले राति नौ बजेभन्दा पछाडि देउसीभैलो खेल्नमा रोक लगाएको छ । रातिमा खेल्दा बढी जोखिम हुने भएकाले सुरक्षाको कारण देखाउँदै रोक लगाएको हो । ‘रातिमा खेल्दा बढी झैझगडा हुने र आपराधिक घटना हुनसक्छन्’ बस्नेतले भने, ‘आगामी वर्षमा पनि निरन्तरता दिनेछांै ।’

जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र प्रमुख राजनीतिक दल, सुरक्षा अधिकारी, नागरिक समाजको सहभागितामा यस्तो कार्यक्रम ल्याएको हो ।

अन्य समाचारहरु