लुम्बिनी भ्रमण वर्ष २०१२ लाई लुम्बिनीदूत घोषणा

काठमाडौँ – लुम्बिनी भ्रमण वर्ष २०१२ लाई प्रभावकारी रूपमा मनाउन विभिन्न अन्तर्राष्ट्रिय ख्याती कमाएका व्यक्तित्वहरूलाई मानार्थ लुम्बिनीदूतका रूपमा घोषणा गरिएको छ।


प्रभावकारी रूपमा मनाउन प्रधानमन्त्री डा बाबुराम भट्टराईको संरक्षकत्वमा गठित १०८ सदस्यीय मूल आयोजक समितिका संयोजक संस्कृति मन्त्री गोपाल किरातीले आज आयोजित पत्रकार सम्मेलनमा आनी छोइङ डोल्मा, ज्याकी च्यान, जु दङयू, टोनी लङ्क, कुनहिङ सुधारत र श्रीलङ्काका सभामुखलाई सदभावना दूत बनाइएको बताए। भारतीय कलाकारद्वय साहरूख खान र रेखासित पनि सदभावना दूतका लागि सहमति माग गरिएको उनले बताए।


भ्रमणवर्षका कार्यक्रमलाई सफल बनाउन १३ सदस्यीय राष्ट्रिय सचिवालय समिति पनि गठन गरिएको छ।


सचिवालयको सहसंयोजकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष साङबो शेर्पा र सदस्यहरूमा सांसद लक्की शेर्पा, सचिव दिनेशहरि कोइराला र उद्योगपति सुरज बैद्य रहेका छन्।


सो सचिवालयको आज सम्पन्न बैठकले सचिवालयअन्तर्गत अन्तर्राष्ट्रिय समन्वय, आर्थिक तथा कार्यक्रम व्यवस्थापन, प्रचार तथा प्रकाशन, सुरक्षा व्यवस्थापन विभाग गठन गर्ने निर्णय भएको छ।


मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष मनाउने निर्णय गरेको थियो। गौतमबुद्धको जन्मस्थल लुम्बिनीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई आन्तरिक एवम् बाह्य रूपमा थप उजागर गर्न सो घोषणा गरिएको थियो।


पत्रकार सम्मेलनमा मन्त्री किरातीले भ्रमण वर्षका अवसरमा एक पटक लुम्बिनी जाऔँ भन्ने कार्यक्रम सञ्चालन गर्ने र यसबाट लुम्बिनीमा करिब दशलाख आन्तरिक तथा बाह्य पर्यटक भिर्‍याउने लक्ष्य रहेको जानकारी दिए।


मानार्थ लुम्बिनीदूतहरूलाई लुम्बिनीमा जमघट गराई लुम्बिनीका ऐतिहासिक तथा पुरातात्विक महत्वका बारेमा थप जानकारी गराउने र उहाँहरूलाई कार्यक्रम समेत प्रस्तुत गर्न लगाउने मन्त्री किरातीले बताए। रासस