१३ कात्तिक, चितवन । नेपालको मध्यतराईको लोकप्रिय छठ पर्व आजबाट विधिवत प्रारम्भ भएको छ । व्रतालु महिलाहरुले आज स्नानगरि चोखो खाने गर्दछन् । चौथीको दिन अरबाअरबाइन अथवा नहाय खाय पनि भनिन्छ । ब्रतालुहरुले चोखो रहनका लागि अपवित्र मानिएका माछा, मासु, लसुन, प्याज, कोदो, मसुर लगायतको खाद्य पदार्थहरु सेवन नगरी चोखो खाने चलन रहेको छ ।
मुख्य रुपमा छठ पर्व षष्टीको सन्ध्या अर्घ र सप्तमीको बिहान प्रातःकालिन अर्घ दिने भएपनि औपचारिक रुपमा छठ पर्व चार दिन सम्म नै मनाइन्छ । सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु छठ पर्वको विशेषता रहेकोछ । छठ पर्वमा आफ्नै खेतबारीको उत्पादनहरु भगवान सूर्यदेवलाइ अर्घ दिने भएकोले यसको महत्व कृषिसित पनि प्रत्यक्ष जोडिएको जानकारहरु बताउँछन् । छठ पर्वलाई अत्यन्त निष्ठापूर्बक मनाइन्छ र कठोर ब्रतको रुपमा मानिन्छ ।
पर्वको सबै बिधि विधानहरु अत्यन्त निष्ठापूर्बक गरिएपनि पञ्चमीकै राती पूजा सामग्री घाटमा राख्नु र षष्ठीको राती घाटमा बस्नेहरुले पूजास्थलमा नै जुवातास खेल्नु,मदिरा सेवनगरि पूजा सामग्रीहरुलाइ छुनु जस्ता बिकृतिहरु बढन थालेकोप्रति भने स्थानीयहरु चिन्तित बन्न थालेका छन् । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमै छठ पर्वमा मात्र अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
छठ पर्वले समाजिक सदभावलाई पनि बढाउने गर्दछ । हिन्दूहरुले मुख्यरुपमा छठ मनाउने भएपनि मुसलमानहरुले भाकलगरि छठ मनाउने गर्छन । घाटहरुमा श्रद्धापूर्वक दर्शन पुजा गर्ने र एक अर्कालाई शुभकामना दिने चलन यो पर्वमा रहेको छ । छठ पूजाले सन्तान सुख, धन प्राप्ति र चर्म रोगबाट मुक्ती हुने जनविश्वास रहेको छ ।