जनकपुर – प्रधानमन्त्री बाबुराम भट्टराईले मंसिर १४ गतेभित्र संविधानको प्रारम्भिक खाका आउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मधेसको महत्वपूर्ण पर्व त्यौहारको अवसरमा शुभकामना आदान प्रदान गर्न मिथिला मधेस राज्य समितिले आइतबार जानकी मन्दिर प्राङ्गणमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै माओवादी उपाध्यक्ष समेत रहेका भट्टराईले भने, ‘राजनीतिक दलहरुसँगको सहकार्य सकारात्मक रुपमा अघि बढिरहेको छ । शान्ति प्रकृया र संविधान निर्माण प्रकृया निरन्तर प्रगतिउन्मुख छ । केही दिन भित्रै ब्रेक थ्रु हुनेछ ।’
प्रधानमन्त्रीले नेपाली सेनालाई समावेशी र राष्ट्रियकरण गर्ने अभियान सुरु भइसकेको उल्लेख गर्दै मधेसी युवकलाई सेनामा सामूहिक प्रवेश गराउने निर्णय यसको प्रमाण भएको बताए ।
भट्टराईले सरकारी सेवालाई समावेशी बनाउन समावेशी विधेयकलाई परिमार्जन गरी रहेको जानकारी दिए । उनले भने बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबैलाई समान अधिकारको ग्यारेन्टी दिन सक्नु ठुलो चुनौती रहेको बताए ।
उनले मधेसको लाइफ लाइनको रुपमा रहेको हुलाकी सडक ,कमला नदीमा पूल तथा विश्व विद्यालय स्थापनामा वर्तमान सरकारको सहयोग जारी रहने बताए । भट्टराईले मैथिली भाषामा दिएको लिखित भाषणलाई मैथिलीभाषी जनताले मन पराएका थिए ।
आफ्नो अभिव्यक्तिको क्रममा डा.भट्टराईले मिथिला सभ्यता र संस्कृतिको निकै प्रशंसा गरेका थिए । उनले हालै भारतसँग गरिएको बिपासम्झौतालाई देश र मधेसको हितमा रहेको बताए । उनले भने- ‘भारतसँग हाम्रो व्यापार घाटा अत्यधिक छ । दुई देश बीचको व्यापारिक घाटा कम नभएसम्म मुलुक आर्थिक रुपले उँभो लाग्न सक्दैन ।’



