समाचार टिप्णी । कहिले के त कहिले के गरेर प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चर्चा कमाइरहनुभएको छ । शान्ति र संविधान निर्माणको मूल जिम्मेवारी पूरा हुने ठेगान नभएपनि उहाँ अरु कामबाट लोकप्रिय बन्दै जानुभएको छ । नेपालमै बनेको सस्तो मुस्ताङ गाडी चढेर चर्चा बटुल्न शुरु गरेका प्रधानमन्त्री पछिल्लोपटक नेवारी र मैथिली भाषामा भाषण गरेर चर्चित हुनुहुन्छ । बिहीबार नेपाल संवतको अवसरमा राजधानीको खुलामञ्चमा भएको कार्यक्रममा उहाँले नेवारी भाषामा भाषण गर्नुभएको थियो ।
पत्नी हिसिला यमीले लेखिदिएको पान्ना खररर पढेर कनीकुथी उहाँले नेपाली भाषामा भाषण गर्नुभयो । प्रधानमन्त्रीले आफ्नो मातृभाषामा भाषण गरेको सुनेर उपस्थित नेवार समुदाय निकै खुशी भए । उनीहरुले प्रधानमन्त्रीको निकै प्रशंसा गर्दै पररररररर ताली बजाए । नेपाल भाषाको आन्दोलनमा लाग्दै आएका पद्मरत्न तुलाधरले त खुशीले आँशु थाम्न नै सक्नुभएन । भाषण गर्ने बेला आँखाभरी आँशु पार्दै तुलाधरले प्रधानमन्त्रीलाई धन्यवाद दिंदै अन्य जातीका कार्यक्रममा जाँदा पनि उनीहरुकै भाषामा सम्बोधन गर्न आग्रह गर्नुभयो । तुलाधरको सुझावबाट हौसिएका प्रधानमन्त्रीले आइतबार जनकपुरमा मैथिली भाषामा भाषण गरेर त्यहाँका जनतालाई दंग बनाईदिनुभयो । आफूले बोल्ने मातृभाषामा प्रधानमन्त्रीले भाषण गर्दा मैथिलीभाषी पनि दंग परे, उसैगरि ताली पिटे ।
नेवारी भाषामा भाषण लेख्न पत्नी हिसिलाले सहयोग गर्नुभएको थियो । मैथिली भाषामा चाहिं उहाँका प्रेस सल्लाहकार रामरिझन यादवले सहयोग गर्नुभयो । मातृभाषाको संरक्षण र सम्बन्धित समुदायलाई हौसला बढाउन प्रधानमन्त्रीले यस्तो गर्नुभएको उहाँ निकट स्रोतको दावी छ । सबै भाषामा नभएपनि अलिअलि बुझ्ने भाषामा चाहिं उहाँले फेरि पनि यसैगरी सम्बोधन गर्नु सक्नुहुन्छ ।
सबै भाषामा सम्भव होला रु
नेपालमा एकसय भन्दा बढी भाषा बोलिन्छन् । आफूहरुको भाषालाई सरकारले हेलाँ गर्यो भन्ने धेरैको आरोप र गुनासो छ । सबैभन्दा धेरै बोलिने भाषाका प्रतिनिधिले यो आवाज चर्को रुपमा उठाईरहेका छन् । उनीहरुलाई खुशी पार्न र हौसला बढाउन प्रधानमन्त्रीले गरेको कामलाई धेरैले मन पराएका छन् भने कतिले चर्चा बटुल्न गरेको काम भनेर आलोचना पनि गरेका छन् ।
प्रशंसकहरुले पनि आफूले नआउने भाषामा धेरै बल नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।