१८ कात्तिक । नक्कली काजगात बनाएर एक व्यक्तिको जग्गा आफैंलाई नामसारी गरिदिने मालपोत कार्यालयका दुई कर्मचारी बुधार पक्राउ परे ।
किर्तेबारे अनुसन्धानमा सघाउनु त कता हो कता पक्राउको विरोधमा कर्मचारीहरुले उपत्यकाका सबै मालपोत कार्यालय बिहीबार थप्प पारे । काठमाडौँ विशालनगरको ५ आना २ दाम जग्गा नक्कली कागजपत्र बनाएर अर्कैको नाममा गरिदिएको अभियोगमा प्रहरीले मालपोत कार्यालय डिल्लीबजारबाट नायब सुब्बा छत्रबहादुर देवकोटा र खरिदार रमेश ज्ञवालीलाई पक्राउ गरेको हो ।
चितवनका सुधा शर्मा र सुशीला मतको नाममा रहेको जग्गा आरोपीहरुको मिलेमतोमा २०७६ असोज १८ मा अर्कैको नाममा पास गरिदिएका थिए । आजको कान्तिपुर दैनिकमा छापिएको समाचारमा लेखिएको छ, उनीहरुले शर्मा र महतको नाममा नक्कली नागरिकता र लालपुर्जा बनाई त्यसैका आधारमा उक्त जग्गा सोलुखुम्बुका निमा सेर्पालाई बेच्न सञ्चिता पौडेलको नाममा वारिसनामा बनाएका थिए । मालपोतका कर्मचारीले भने सहकर्मीलाई विनाकारण पक्राउ गरेको दाबी गर्दै उपत्यकाका तीनवटै जिल्ला मालपोत कार्यालयको कामकाज ठप्प पारे ।



