माओवादी पुष्पकमल दाहाल अमेरिकामा

काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाल लुम्बिनीको विकासबारे छलफल गर्न शनिबार अमेरिका जाने भएका छन् । सरकारले गठन गरेको बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिको तर्फबाट उनी न्यूयोर्क जान लागेका हुन् ।

दाहालका स्वकीय सचिब समीर दाहालले नोभेम्बर ८ तारेखामा संयुक्त राष्ट्र संघका महासचिब बान कि मुनलाई भेट्ने तय भएको बताए । उनले लुम्बिनीको विकासमा सहयोग गर्न मुनलाई आग्रह गर्नेछन् । दाहालसंग कांग्रेस नेता मिनेन्द्र रिजाल, समितिका सदस्य मनोज श्रेष्ठका साथै दाहालका भतिज एबं स्वकीय सचिब समीर र छोरा प्रकाश जाने भएका छन् । उनी इत्तिहादको जहाजबाट अपरान्ह चार बजे प्रस्थान गर्ने समीरले जानकारी दिए ।

उनी बेलायत हुदै फर्कने सम्भावना भएको पनि उनले बताए ।