गृहजिल्ला गोरखा जानेक्रममा उनले मुग्लिनका होटल तथा रेष्टुरेण्टहरुको आकस्मिक निरीक्षण गरेका छन् । उनले मुग्लिनमा रहेका रुप्सी रेष्टुरेण्ट एण्ड लज र थकाली भान्साघरको निरीक्षण गरे ।
प्रधानमन्त्रीले होटलको भान्साकोठा तथा चर्पीको समेत निरीक्षण गरे भने होटलका ग्राहकहरुसँग खाना र सरसफाईबारे जानकारी लिए । निरीक्षणपछि उहनले होटल सञ्चालकहरुलाई मूल्यसूची अनिवार्य राख्न तथा होटलको सरसफाईमा ध्यान दिन निर्देशन दिए ।
प्रधानमन्त्री भट्टराईले शनिबार बिहानै चितवनको फिस्लिङमा केहीदिन अघि चुडिएको झोलुङ्गे पुलको निरीक्षण गरे । त्यसक्रममा उनलाई स्थानीयवासीले तीन बुँदे ज्ञापन पत्र बुझाए ।
प्रधानमन्त्री भट्टराईले चुडिएको पुलको निरीक्षणपछि घटना दुःखद भएको भन्दै मृतक प्रति श्रद्धाञ्जली अर्पण गरे । पुल चुडिदा घाइते भएका दुई जनाको उपचार सरकारले गर्ने घोषणा गर्दै उनले पुल चुडिदा वेपत्ता भएकाको खोजि सरकारले गरिरहेको जानकारी दिए ।
प्रधानमन्त्री संविधानसभापछि ४६ औं पटक गोरखामा
संविधानसभाको निर्वाचनमा बिजयी भएपछि मासिक जिल्ला आउने बाचा बाँधेका प्रधानमन्त्री बाबुराम भट्टराई शनिबार ४६ औं पटक गोरखा आए ।
शनिबारनै काठमाडौं फर्कने भएका प्रधानमन्त्री भट्टराई जिल्लामा आधा दर्जन स-साना कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको स्वकीय सचिव फडिन्द्र देवकोटाले बताए । देवकोटाका अनुसार प्रधानमन्त्री कर्मचारी भोटघाट तथा निर्देशन, कार्यकर्ता भेटघाट, शहिद स्मृति सभामा सम्वोधन, विकास निर्माणका लागि डेलिकेशनको टोलीसँग भेटघाट लगायतका कार्यक्रममा व्यस्त रहने छन् ।
प्रधानमन्त्री दिउँसो तीन बजे काठमाडौं फर्कने कार्यक्रम छ । भट्टराई प्रधानमन्त्री भएपछि तेस्रो पटक जिल्ला आएका हुन् । उनी नेपालमै बनेको उनको सवारी ‘मुस्ताङ’ चढेर गृहजिल्ला आएका हुन् ।



