काठमाडौं, २२ कात्तिक मालदिभ्सको राजधानी मालेमा हुने १७ औं सार्क शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री डा। बाबुराम भट्टराई आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क) को १७ औं शिखर सम्मेलनमा सहभागी हुन ११ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री अपरान्ह ३ बजे माले प्रस्थान गर्नेछन् ।
सार्क शिखर सम्मेलनमा गरिबी निवारण, आर्थिक सहकार्य, सार्क विकास कोष, खाद्य सुरक्षा, ऊर्जा र जलवायु परिवर्तनको बारेमा छलफल हुनेछ ।
यस्तै सम्मेलनले विगतका सम्मेलनमा भएको प्रतिबद्धता र सहमतिको कार्यान्वयनका विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यही कात्तिक २४ र २५ गते माल्दिभ्सको एड्डु सहरमा हुने शिखर सम्मेलनमा प्रधानमन्त्रीले २५ गते बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ हिजै त्यसतर्फ गइसकेका छन् ।



