गहिरिदो आर्थिक संकटको सामना गर्न ठोस नीति तय गर्न नसकेपछि अलोकप्रिय बनेका इटलीका प्रधानमन्त्री सिल्बियो बर्लुस्कोनीले पद छोड्ने भएका छन । बजेटसम्बन्धि प्रस्तावमा भएको मतदानमा बहुमत ल्याउन नसक्दा विपक्षीले प्रधानमन्त्री बर्लुस्कोनीमाथि राजीनामा दिन दबाब बढाएको हो । खर्च कटौती र करबृद्धिमा बलियो निर्देशन नदिएको भन्दै विपक्षीले राजीनामा मागेका थिए।
यसबाहेक यौन प्रकरणमा मुछिएपछि बर्लुस्कोनीको लोकप्रियता घट्दै गएको छ । यसअघि ग्रीसमा छाएको आर्थिक संकटको प्रभाव इटलीमा पनि परेपछि इटलीमा ऋण उच्च बिन्दुमा पुगेको छ भने युरोजोन ऋणको संकटको सामना गर्न पनि बाध्य भएको छ । आर्थिक संकटमा रुमल्लिरहेको इटलीको ऋण दुई दशमलव सात ट्रिलियन डलर पुगेको छ । जुन इटलीको आर्थिक उत्पादनको एक सय पचास प्रतिशत हो ।



