न्युरो अस्पतालमा चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप

काठमाडौँ, कात्तिक २५( न्युरो अस्पताल बाँसबारीमा चिकित्सकको लापरबाहीका कारण सिन्धुपाल्चोक तौथलीका वीरेन्द्र श्रेष्ठको आज मृत्यु भएको आरोप लगाइएको छ। मृतक श्रेष्ठका भाइ राजेशले केही दिनअघि नाकमा पलाएको मासुको अप्रेसनका लागि दाजु काठमाडौँ आएको र डाक्टरले नाकको अप्रेसन गर्दा लापरबाही गरेका कारण उनको मृत्यु भएको आरोप लगाए।

बिरामी श्रेष्ठ नाकको मासु अप्रेसनका लागि पाँच दिनअघि चाबहिलको मेडिकेयर अस्पतालमा भर्ना भएका थिए।

अप्रेसन गरेपछि नाकबाट रगत आउन थालेको र सो नरोकिएपछि मेडिकेयरका डाक्टरले उनको नाकबाट रगत नबगोस् भनेर नाकमा कपास राखिदिएका थिए। नाकबाट रगत आउन नपाएपछि रगत मुखबाट आउन थालेको थियो, श्रेष्ठले भने(ुमुखबाट पनि रगत आउन नपाएपछि रगत टाउकामा गएर जमेछ।ु

मेडिकेयर अस्पतालमा सिटी स्क्यान गर्दा टाउकामा रगत जमेको पाएपछि सो अस्पतालले बाँसबारीको न्युरो अस्पतालमा रिफर गरिदिएको थियो।

चार दिन लगातार उपचार गर्दा पनि न्युरो अस्पतालले निको पार्न नसकेपछि हिजो बेलुकी ७ बजे वीरेन्द्रको निधन भएको हो।

राजेशले मेडिकेयर अस्पताल चाबहिलमा कार्यरत डाक्टर नै दोषी रहेको भन्दै अस्पतालले क्षतिपूर्ति नब्यहोरेसम्म लास नउठाउने चेतावनी दिए।

मेडिकेयर अस्पतालसँग यस विषयमा जिज्ञासा राख्दा सबै कुरा व्यवस्थापनले हेर्ने भएको र उपचाररत डाक्टर दोषी नरहेको बताएको छ । उपचार गर्ने डाक्टरसित भने अझै सम्पर्क हुन सकेको छैन।