सार्क शिखर सम्मेलन आज सकिँदै, चारवटा सम्झौतापत्रमा हस्ताक्षर हुँदै

अड्डु, २५ कात्तिक माल्दिभ्सको अड्डु शहरमा हिजोदेखि सुरु भएको दक्षिण
एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलन आज सकिँदैछ । आज
दिउँसो चार बजे समापन हुने सम्मेलनमा विभिन्न चारवटा सम्झौतापत्रमा
हस्ताक्षर हुने कार्यक्रम छ ।
 
सम्मेलनमा क्षेत्रीय विउ बैंक स्थापना, प्रजातन्त्रसम्बन्धी
प्रतिबद्धतापत्र, प्राकृतिक प्रकोप नियन्त्रण संयन्त्र र गुणस्तर मापदण्डमा
समानता र अधिकारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने माल्दिभ्समै रहेका
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । श्रेष्ठका
अनुसार सम्मेलनमा आतंकवाद र अतिवाद नियन्त्रण, सार्कमा साझा यातायात,
हवाईसेवा, रेल सेवा र गरिबी निवारणका लागि पुरानो संयन्त्रलाई प्रभावकारी
बनाउने विषयमा पनि छलफल भइरहेको छ ।
 
नेपालका प्रधानमन्त्री डा बाबुराम भट्टराईले सम्मेलनमा हिजो सम्बोधन गर्दै
पुराना प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । समापन
समारोहमा प्रधानमन्त्री भट्टराईले १८ औं सम्मेलन सन् २०१३ मा नेपालमा हुने
घोषणा पनि गर्नेछन् । ूबिल्डिङ ब्रिजेजू नारा राखिएको सत्रौ शिखर सम्मेलन
आपसी राजनीतिक मतभेदलाई हटाइ सार्क मित्रराष्ट्रहरुबीचको आपसी हितका बारेमा
छलफल गर्न हिजो माल्दिभ्सको अड्डु शहरमा सुरु भएको थियो ।