बारुदी सुरुङ् प्रतिवन्ध गर्ने सम्वन्धि सन्धीमा नेपालले हस्ताक्षर गर्नुपर्नेमा सरोकारवालाको जोड

बारुदी सुरुङ् प्रतिवन्ध गर्ने सम्वन्धि सन्धीमा नेपालले हस्ताक्षर गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । वारुदी सुरुङ्ग प्रतिवन्ध अभियान नेपालले आज राजधानीमा गरेको कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री हुँदा सन्धी अनुमोदन गर्न प्रयास गरे पनि दलहरूको असहयोगका कारण सफल हुन नसकेको बताउनुभयो । अनुमोदन भए पालाना गर्नुपर्ने त्रासका कारण केही दलहरु पन्छिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बारुदी सुरुङ्ग प्रतिवन्ध अभियानमा आफ्नो पार्टीको समर्थन रहने बताउनुभयो । नेपालमा अझै करिव १० हजारको संख्यामा बारुदी सुरुङ्ग रहेको जनाइएको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले कांग्रेस उपसभापति पौडेल लगायत बारुदी सुरुङ प्रतिवन्ध अभियानमा समर्थन गर्ने दलका प्रतिनिधिलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । हालसम्म एक सय ५८ राष्ट्रले बारुदी सुरुङ्ग प्रतिबन्ध गर्ने सन्धिमा हस्ताक्षर गरिसकेका छन् ।