
एकीकृत माओवादी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले कब्जा गरिएका घरजग्गा तथा सम्पत्ति फिर्ता नगर्ने अडान दोहोर्याउँदै जबर्जस्ती फिर्ता गर्न खोजे प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
राजधानीमा पत्रकार सम्मेलन गरी महासंघ क्रान्तिकारीका उपाध्यक्ष ठाकुरप्रसाद चापागाईले कब्जा गरिएको घरजग्गा फिर्ता गर्ने सरकारी निर्णय जनघाती भएको भन्दै प्रतिरोधमा उत्रने उद्घोष गर्नुभयो ।
पत्रकार सम्मेलनमा किसान महासंघका वैद्य पक्षधर मानिनेर उपाध्यक्ष चापागाई, महासचिव नन्दबहादुर बुढामगर र सचिव धनबहादुर महर्जनले पार्टी नेतृत्व र सरकारको कदमले सामन्त र जमिन्दार पोस्ने काम गरेको आरोप लगाए ।
उनीहरुले विकल्प नदिएसम्म कब्जा गरिएको जग्गा एक इन्च पनि फिर्ता नगर्ने बताए । पार्टी नेतृत्व सत्ता र विदेश सयरमा रमाइरहेको आरोप पनि उनीहरुले लगाएका छन् ।