विद्युत् महसुल करिव ३० प्रतिशत वृद्धिको तयारी
२८ कात्तिक, काठमाडौं । सरकारले विद्युत् महसुल ३० प्रतिशतको हाराहारीमा वृद्धि गर्ने तयारी गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणले विगत १० वर्षदेखि विद्युत् महसुल वृद्धि नभएको र प्राधिकरणको सञ्चित घाटा वाषिर्क रु छ अर्बभन्दामाथि रहेकाले हालको विद्युत् महसुलमा ३० प्रतिशत वृद्धि हुन आवश्यक रहेको प्रस्ताव ऊर्जा मन्त्रालयमा पठाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको कुल सम्पत्ति रु ४० अर्ब रहेकोमा यो वर्षसम्म आइपुग्दा रु २७ अर्ब सञ्चित घाटा रहेकोले अहिलेको अवस्थामा सुधार ल्याउन नसके आगामी २ वर्षमा प्राधिकरण टाट पल्टने अवस्था रहेको छ । प्राधिकरणको हाल मुलुकभर २० लाख ग्राहक रहेका छन् ।
लामो समयसम्म बिजुलीको महसुल वृद्धि नभएको हुँदा न्यायोचित ढङ्गले महसुल वृद्धिको विकल्प नरहेको मन्त्रालयका प्रवक्ता पुरुषोत्तम आचार्यले बताउनुभयो । तर, नेपाली जनताले विगतको जस्तै यो वर्ष पनि दैनिक १६ घन्टासम्म लोड सेडिङको सामना गर्नु पर्ने भएको छ ।
भारतबाट ५० देखि १०० मेघावाटसम्म विद्युत् खरिद गर्ने कुरा चलेको भए पनि औपचारिक रुपमा निर्णयमा पुगि नसकेको र सरकारी लगानीमा सुरु भएका आयोजनाले अपेक्षाकृत ढङ्गमा प्रगति हासिल नगरेकाले सुख्खायाममा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुने ऊर्जा मन्त्रालयले जनाएको छ । रासस