माओवादी लडाकुहरुको वर्गीकरणका लागि खटिएका टोलीहरु शिविरहरुमा पुग्ने क्रम जारी

माओवादी लडाकुहरुको वर्गीकरणका लागि खटिएका टोलीहरु शिविरहरुमा पुग्ने क्रम जारी छ । इलामको चुलाचुलीस्थित लडाकुको प्रथम डिभिजन मुख्यालयमा आज टोली पुगेका छ । सेना समायोजन विशेष समितिका सचिवालय सदस्य डा. शम्भुराम सिम्खडाको नेतृत्वमा गएको टोलीमा २४ जना रहेका छन् । यो शिविर अन्तर्गत १९ सय ३७ लडाकु रहेका छन् ।

 

 

यसैगरी सुर्खेतको दशरथपुरस्थित लडाकुको छैठौं डिभिजनमा आजै टोली पुगेको छ । सचिवलाय सदस्य दिपक भट्टको नेतृत्वमा गएको टोलीमा ३५ जना रहेका छन् । यो डिभिजन अन्तर्गत ३१ सय लडाकु रहेका छन् । यता, चितवनको जुटपानीस्थित तेस्रो डिभिजन मुख्यालयमा भने सचिवालयका संयोजक बालानन्द शर्माको नेतृत्वमा हिजै ४० सदस्यीय टोली पुगेको थियो । तेस्रो डिभिजन अन्तर्गत ३ हजार ९ सय ७२ लडाकु रहेका छन् ।

यसैबीच, सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले माओवादी लडाकुहरुको पुनर्वर्गीकरणको तयारी पूरा भएको बताउनु भएको छ । पुनर्वर्गीकरणका लागि माओवादी लडाकुको चितवनस्थित तेस्रो डिभिजनमा पुग्नु भएका शर्माले ईमेज च्यानलसंग कुरा गर्दै आज र भोलिमा पुनर्गर्गीकरणका लागि प्राविधिक तयारी गरिसक्ने र ३ गतेदेखि वर्गीकरण शुरु गर्ने बताउनु भयो । उहाँले सबै शिविरका लडाकुहरुको पुनर्वर्गीकरण आगामी १२ गतेभित्र सक्ने लक्ष्यका साथ काम भईरहेको पनि बताउनु भयो ।

अहिले सेना समायोजन सचिवालयको काम पनि जुटपानीस्थित तेस्रो डिभिजनबाटै गरिएको छ ।