करोडौं घोटला गरी फरार रहेका नेपाल विकास वैंकका अध्यक्ष अमर गुरुङ पक्राउ




करोडौं घोटला गरी फरार रहेका नेपाल विकास वैंकका अध्यक्ष अमर गुरुङ पक्राउखारेजीमा गईसकेको नेपाल विकास बैंकका तत्कालिन अध्यक्ष अमर गुरुङलाई आज प्रहरीले काठमाडौबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले गुरुङलाई महाराजगञ्जस्थित अमेरिकी दुताबास नजिकबाट पक्राउ गरेर आज सार्वजनिक गरेको हो । ब्युरोको केन्द्रीय कार्यालय नक्सालमा भएको पत्रकार सम्मेलनमा गुरुङले ३६ करोड ५ लाख ७० हजार २ सय ७३ रुपैयाँ अनियमितता गरेको जानकारी दिइयो । नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर तथा सजाय ऐन र मुलुकी ऐनको ठगी महल बमोजिम गुरुङले कसुर गरेको ठहर गरेको थियो ।

बैंकले सुरक्षणको अधिक मूल्यांकन गरेर ऋण प्रवाह गरेको ऋण चुक्ता नहुँदै धितोमा रहेको सम्पत्ति फुकुवा गरेको बैंकिङ स्वीकृति बेगर विदेश भ्रमण गरेको जस्ता आरोपमा गुरुङमाथि छानविन हुने छ १० कक्षा पनि उत्तिर्ण नगरेका गुरुङले नक्कली शैक्षिक प्रमाणपत्रहरु बनाएर कार्यकारी अध्यक्ष बनेको समेत प्रहरीले जनाएको छ । सोही बैंकका अर्का अध्यक्ष एवं कार्यकारी प्रमुख उत्तम पुन भने भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले आजै अवैध भिओआइपी सञ्चालन गरेको आरोपमा ललितपुरबाट जगमोहन श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै निवासबाट पक्राउ गरी करिब १६ लाख मूल्य बराबरको भिओआइपी सञ्चालनमा प्रयोग हुने उपकरण बरामद गरेको प्रहरीले जनाएको छ ।