
सिन्धुपाल्चोक महोत्सवको सामुहिक उद्घाटन गर्दै प्रमुख तीन दलका शीर्ष नेताहरु। ति्स्बिर : ध्रुव दंगाल
चौतारामा शनिबारबाट सुरु सिन्धुपाल्चोक महोत्सवको संयुक्तरुपमा उद्घाटन गर्दै तीन शीर्ष नेताले घुमाउरो बाटो हिंडेर भएपनि अन्त्यत आफूहरु कात्तिक १५ गते आशा लाग्दो सहमति गर्न सफल भएको बताए। एकै हेलिकप्टरमा आएका उनीहरुले शान्ति र संविधानमा देखिएका विवाद राजनीतिक सहमतिकै आधारमा समाधान गर्नतर्फ अघि बढ्ने प्रतिवद्धतासमेत जनाए।
एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानमा केही ढिलाइ भए पनि राजनीतिक दल घुमाउरो बाटो हुँदै सहमतिका बीचमा उभिन पुगेकाले यसले गति पाउने बताए।
‘घुमाउरो बाटो हिँडेर भए पनि १५ कात्तिकको सात बुँदे सहमतिले आशा जगाएको छ,’ उनले भने। शान्ति र संविधानका लागि दलबीच निरन्तर लगाव रहने विश्वास दिलाउँदै उनले राज्य पुनःसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणाली संविधान निर्माणका तीन विवाद सहमतिबाटै टुंगो लाग्ने विश्वास व्यक्त गरे। ‘राज्य पुनःसंरचना आयोग गठनको सहमतिले यही आशा जगाएको छ,’ खनालले भने।
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति र संविधानमा माओवादी भूमिका अत्यन्त सकारात्मक रहेको बताए। ‘यसले संविधान बन्ने विश्वासको बातावरण बनाएको छ,’ उनले माओवादीको प्रशंसा गर्दै भने। स्थायी शान्ति, संविधान र विकासका लागि कांग्रेस दृढ रहेको दोहोर्याउदै देउवाले सात बुँदे र राज्य पुनःसंरचना आयोग बनाउने सहमतिले दलबीच विश्वास बढाएको धारण राखे।



