माओवादी अध्यक्ष प्रचण्ड बर्दिया जाँदै घरजग्गा फिर्ताका लागि

काठमाडौं, ४ मंसिर  द्वन्द्वकालमा माओवादीले कब्जा गरेको घरजग्गा फिर्ताको सुरुवात गर्न एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बर्दिया जाँदै छन् ।
दलहरुबीच कब्जा जग्गा फिर्ता गर्ने सहमति भएको भएपनि माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले घरजग्गा फिर्ताको विरोध जनाउँदै आएको छ ।
शान्तिमन्त्रालय सिंहदरवारमा जारी प्रमुख तीन दलको बैठकमा द्वन्द्वकालमा माओवादीले कब्जा गरेको नीजि तथा सार्वजनिक घरजग्गा फिर्ता गर्ने बारेमा समेत छलफल भइरहेको छ । कब्जा निजी तथा सार्वजनिक घरजग्गा फिर्ता गर्ने सहमति दलहरुबीच यसअघि भइसकेको भए पनि आजको बैठकबाट घरजग्गा फिर्ता अभियानमा जाने टोलीको टुंगो लगाउने सोचमा प्रधानमन्त्री बाबुराम भट्टराई रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मूर्त रुपमा घरजग्गा फिर्ताको निर्णयलाई कार्यान्वयन गर्न तीन दलको बैठकले सहमति गर्ने प्रधानन्त्रीका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल घरजग्गा फिर्ता अभियान सुरुवात गर्न आज सबैभन्दा धेरै निजी तथा सार्वजनिक घरजग्गा कब्जा भएको जिल्ला बर्दिया जाने कार्यक्रम छ । बर्दियाबाट नै घरजग्गा फिर्ता अभियान सुरु हुने र त्यसको लागि कांग्रेस र एमालेका नेताहरुलाई समेत सहभागी गराउने सोचमा माओवादी अध्यक्ष प्रचण्ड रहेको स्रोतले जनाएको छ । दलहरुबीच भएको सातबुँदे सहमतिमा द्वन्द्वकालमा कब्जा गरिएका नीजि तथा सार्वजनिक घरजग्गा मंसीर ७ भित्रमा फिर्ता गर्ने उल्लेख छ ।