संविधानसभाको म्याद थप्ने विषयमा दलहरुबीच सहमति भइनसकेको काँग्रेस सुशील कोइरालाको भनाइ

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको म्याद थप्ने विषयमा दलहरुबीच सहमति भइनसकेको वताउनुभएको छ । उहाँले संविधान संशोधनको पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलले ह्वीप जारी गरेकोमा पनि असन्तुष्टि जनाउनु भएको छ ।

 

आज महाराजगञ्जस्थित आफ्नै निवासमा रिपोर्टस क्लवले गरेको साक्षात्कारमा सभापति कोइरालाले काँग्रेस मुख्य सचेतक लक्ष्मण प्रसाद घिमिरेले संविधानसभाको म्याद थप्ने सहमति भइ नसकेको अवस्थामा संविधान संशोधनको पक्षमा लाग्न ह्वीप जारी गरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

 

उहाँले सरकारले संसदमा दर्ता गराएको संविधानसभाको म्याद थप्ने प्रस्तावमा कांग्रेसको समर्थन नरहेको समेत उल्लेख गर्नुभयो । संविधानसभाको म्याद थप्ने, नथप्नेबारे केन्द्रीय कार्य समितिले निर्णय गर्ने कोइरालाको भनाइ थियो । उहाँले माओवादी र एमालेले दुइ दुइ पटक सरकारको नेतृत्व गरिसकेकाले अब काँग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने वताउनुभयो ।

 

आजै राजधानीमा भएको अर्को कार्यक्रममा सभापति कोइरालाले काँग्रेसले लोकतन्त्रको मान्यता विपरित कसैसँग सम्झौता नगर्ने वताउनुभयो ।