दलहरुमा संविधानसभाको थपिने म्याद भित्र काम सक्ने गरी क्यालेण्डर बनाएपछि मात्र म्याद थप्ने सहमति

काठमाडौ  – दलहरुले संविधानसभाको थपिने म्याद भित्र काम सक्ने गरी क्यालेण्डर बनाएपछि मात्र म्याद थप्ने सहमति गरेका छन् । आइतबार बिहान बसेको तीन दल र मधेशी मोर्चाको संयुक्त बैठकले शीर्ष नेताहरुको बैठकले क्यालेण्डर बनाउन कार्यदल गठन गरेको छ । कार्यदलमा कांग्रेसबाट कृष्ण सिटौला,माओवादीबाट पोष्टबहादुर बोगटी,एमालेबाट ईश्वर पोखरेल र मधेशी मोर्चाबाट जयप्रकाश गुप्ता छन् ।

कार्यदलले संविधान निर्माणका लागि गर्नपर्ने बाँकी काम र त्यसका लागि चाहिने समयसीमा सहितको स्पष्ष्ट क्यालेण्डर बनाएपछि मात्र कति म्याद थप्ने विषयमा दलहरुबीच फेरि छलफल हुनेछ । म्याद थप गर्न संविधान संशोधनका लागि आइतबार व्यवस्थापिका संसदको बैठक बोलाइएको छ । दलहरुले म्याद थपको विषयमा आज निर्णय लिन नसकेपछि संसदमा मंगलबार मात्र यस विषयमा मतदान हुने भएको छ ।