संविधानसभाको म्याद छ महिना थप्नु उचित हुने साना दलहरुको सुझाव

काठमाडौ –  संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुले संविधानसभाको म्याद छ महिना थप्नु उचित हुने सुझाव प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई दिएका छन् ।

प्रधानमन्त्री भट्टराईले संविधानसभाको समयावधि कति बढाउन उपयुक्त हुन्छ भन्नेबारे संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुसँग सोमबार छलफल गरेका थिए ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा साना दलका प्रतिनिधिहरुले सर्वोच्च अदालतको पछिल्लो फैसलाको मर्म र भावनाअनुसार समय थप गरी शान्ति र संविधानको जिम्मेवारीलाई पूरा गर्न सुझाव दिएका थिए ।

बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले सर्वोच्च अदालतको फैसलामा नेपाली जनताको राय र मत प्रतिविम्वित भएको तथा पछिल्लो समयमा शान्ति प्रक्रियाले गति लिएकाले संविधानसभाको समयावधि छ महिना थप गर्दा उचित हुने सल्लाह आफूहरुले दिएको जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीले संविधानको म्याद थप्नु पर्यो तपाईंहरुको के सुझाव छ भनी जिज्ञासा लिने काम मात्र काम गरेको बताए ।

उनले माओवादी, काँग्रेस र एमालेले चाहेमा मात्र शान्ति र संविधान टुङ्गिने भएकाले शान्ति र संविधानका लागि गम्भीर भएर काम गर्नुपर्ने आफूले सुझाव दिएको बताए ।