काठमाडौ – नेपालमा प्रमुख तीन दल र मधेशी मोर्चाबीच संविधानसभाको म्याद छ महिनाका लागि थप्ने सहमति भएको छ । राष्ट्रिय सरकार अविलम्व गठन गर्ने मुख्य शर्तमा दलहरुबीच सहमति भएपछि म्याद थपको वातावरण बनेको हो ।
शान्ति मन्त्रालयमा भएको छलफलमा दलहरुबीच फेरि छ बुँदे सहमति भएको छ । कात्तिक १५ गते भएको ७ बुँदेको पालना गर्ने, शान्ति प्रक्रिया सम्बन्धी कार्य मसिंर मसान्त भित्र सक्ने सहमति भएको छ । यसअघि मसिंर ७ भित्र शान्ति प्रक्रिया सम्बन्धी कार्य सक्ने सहमति भएको थियो ।
राज्य पुनर्संरचना आयोगले पहिलो बैठक बसेको २ महिना भित्र आफ्नो प्रतिवेदन दिनुपर्ने,संवैधानिक समितिले मसिंर २० भित्र संविधान निर्माणका कार्यतालिका सार्वजनिक गर्ने समेत सहमति भएको मोर्चाका नेता तथा सञ्चार मन्त्री जयप्रकाश गुप्ताले बताए ।
भएका सहमतिहरुको कार्यान्वयनको समिक्षा गर्न प्रतयेक सात्ता शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ । दलहरुबीच सहमति भएपछि अपरान्ह ३ बजे बस्ने संसद बैठकले संविधानसभाको म्याद थप्ने छ ।
सहमति पत्रमा मओवादी अध्यक्ष पुष्पकमल दाहाल,कांग्रेस सभापति सुशील कोइराला,एमाले अध्यक्ष झलनाथ खनाल र मोर्चाबाट विजय गच्छदारले हस्ताक्षर गरेका छन् ।