वर्गीकरणमा असन्तुष्ट लडाकुलाई शान्त पार्न प्रधानमन्त्री र माओवादी दाहाल लडाकु शिविरहरूमा

– काशीराम डाँगी

 

दहवन, रोल्पा – वर्गीकरणमा असन्तुष्ट लडाकुलाई शान्त पार्न प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बुधबार लडाकु शिविरहरूमा पुगेका छन् ।

केही लडाकुले शिविरभित्र संघर्ष समिति गठन गरी असन्तुष्टि व्यक्त गरेपछि लडाकु र कमान्डरलाई सम्झाउन भट्टराई र दाहाल आएको स्रोतले बतायो । उनीहरू कैलालीको तालबन्द स्थित शिविरबाट भ्रमण सरु गरेका छन् । रोल्पाको दहवन,सुर्खेत र त्यसपछि र चितवनको शक्तिखोर पुग्नेछन् । विशेष समितिका सदस्यहरुसंगै सेनाको हेलिकप्टरमा नेताहरु शिविर निरीक्षणमा पुगेका छन् ।

माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्र्थापनासम्बन्धी विशेष समिति अध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराईले समिति बैठकमा नै वर्गीकरणका बेला आफू सबै शिविरमा पुग्ने प्रतिबद्धता जनाएका थिए । मंसिर ३ गतेबाट वर्गीकरण थाल्ने निर्णय लिएको कात्तिक २९ को बैठकमा प्रधानमन्त्री भट्टराईले सकेसम्म अध्यक्ष दाहाललाई पनि ल्याउने प्रतिबद्धता जनाएका थिए । तर राज्य पुनसर्ंरचना, संविधानसभा म्याद थपसम्बन्धी राष्ट्रिय राजनीतिका विषय हल गर्नुपर्ने भएकाले सबैतिर पुग्न नसकेको प्रधानमन्त्रीका निजी सचिव विश्वदीप पाण्डेले बताए । सातमध्ये कैलालीको तालबन्दबाहेक ६ मुख्य शिविरमा वर्गीकरणको काम सकिएको छ । ‘प्रधानमन्त्री र अध्यक्ष दाहाल बिहान आइपुग्ने सर्कुलर आइसकेको छ,’ पाँचौं डिभिजनका एक कमान्डरले भने, ‘शिविरका कमान्डरहरूलाई पनि यसको जानकारी दिइसकिएको छ ।’

प्रधानमन्त्री र दाहालको दौडाहालाई सरकारी पक्षले शिविर र लडाकु अनुगमन भएको बताएका

छन् । लडाकु वर्गीकरणको अवस्थाबारे जानकारी लिन आउने पाँचौं डिभिजनले जनाएको छ । डिभिजन सहकमान्डर रामलाल रोका मदनले दुवै जना आउने पार्टीले सर्कुलर गरेको बताए । तर लडाकु वर्गीकरणका क्रममा उत्पन्न विवादबारे लडाकुसँग अन्तरक्रिया गरी समाधान खोज्न आउन लागेको सम्बद्ध उच्च स्रोतको दाबी छ । वैद्य पक्ष र घाइते लडाकुले राखेका मागबारे पनि छलफल गर्ने डिभिजनले तयारी गरेको छ । ‘कुनकुन विषयमा छलफल गर्ने भन्नेबारे निर्णय भएको छैन,’ सहकमान्डर मदनले भने, ‘जिम्मेवार नेताहरू आउने भएकाले आगामी कार्ययोजनामा छलफल हुनसक्छ ।’

उनले प्रधानमन्त्री वा अध्यक्ष दाहाल आए पनि आफूहरूको सुनुवाइ नहुने बताए । ‘उही पुरानै कुरा होला । समायोजनको औचित्य पुष्टि गर्न सक्दैनन्,’ घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गर्दै उनले भने, ‘जो आए पनि सबैले ढाँट्ने छन् ।’ उनले आफू लिवाङ भएकाले सहभागी हुन नपाउने बताए ।