संविधान सभाको बिबाद समाधान उपसमितिले संविधान निर्माणको लागि तय गरेका नयाँ कार्यतालिका अनुमोदन गरी संबिधानसभामा पेश गर्ने भएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले बिबाद समाधान उपसमितिले पेश गरेको कार्यतालिका संसोधन सहित अनुमोदन गरेको उपसमिति संयोजक पुष्पकमल दाहालले जानकारी दिनुभयो ।
प्रस्तावित कार्यतालिकामा राज्य पुनसंरचनाबाहेकका विवादित विषयमा सहमति गर्ने, सहमति हुन नसकेका विषयमा संबिधानसभाले निर्णय लिने समितिका संयोजक निलाम्बर आचार्यले जानकारी दिनुभयो ।
राज्य पुनसंरचना सुझाव आयोगको प्रतिवेदन माघ १५ भित्र संविधानसभामा पेश गर्ने र मसान्तसम्ममा संवैधानिक समितिमा पठाइनेछ । संविधानको एकीकृत मस्यौदा फागुन १ गतेदेखि १५ गतेभित्र तयार पार्ने र २२ गतेभित्र पहिलो मस्यौदामाथि सैद्धान्तिक छलफल गरी पारित गरिने भएको छ । संविधानसभाको पहिलो मस्यौदामाथि फागुन २३ देखि चैत्र १५ सम्म जनमत संकलन गरिने छ । चैत्र १६ देखि चैत्र मसान्तसम्म संविधानसभाले निर्देश गर्ने कार्यतालिकामा छ । पहिलो मस्यौदा परिमार्जन गरी संविधानको विधेयक तयार गर्ने र आगामी बैशाख १ देखि ७ गतेसम्म संविधानसभामा पेस गर्ने प्रस्ताव गरिएको छ । आगामी जेठ ८ देखि १४ गतेभित्र पारित संविधानमा सबै सदस्यले हस्तक्षर गर्ने, अध्यक्षले प्रमाणित गर्ने र राष्ट्रपतिसमक्ष पेस गरी संविधान जारी गरेको घोषणा गर्ने समय तालिकामा उल्लेख छ ।



