काठमाडौं – नेपालको शान्ति प्रक्रिया, संविधानसभा र गणतन्त्र स्थापनामा नेतृत्व गरेका दुई पूर्व प्रधानमन्त्रीहरुलाई यो वर्षको यो वर्षको डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार संयुक्त रूपमा दिइने भएको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइराला (मरणोपरान्त) लाई सो पुरस्कार प्रदान गरिने भएको हो।
प्रतिष्ठानले मुलुकको शान्ति प्रक्रियामा पुर्याएको योगदानको कदर गर्दै मङ्गलबार दुई नेतालाई पुरस्कृत गर्ने घोषणा गरेको हो। पुरस्कारको राशि नगद १ लाख र सुनको धातुबाट बनेको सम्मान पत्र रहेको छ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने यो पुरस्कार डिल्लीरमण रेग्मीको जन्म दिन पारेर पुस ३ गते प्रदान गरिनेछ। प्रतिष्ठान अध्यक्ष डा. जङ्गबहादुर गिरीको संयोजकत्वमा गठित १६ सदस्यीय पुरस्कार छनोट समितिको बैठकले उक्त निर्णय गरेको हो।
‘नेपालको शान्ति प्रक्रिया अगाडि बढाउन उहाँहरूको निकै ठूलो योगदान छ’, पुरस्कार सिफारिस समितिका सदस्य तथा प्रतिष्ठानका पूर्वअध्यक्ष विष्णुहरि नेपालले भन्नुभयो। सोही अवसरमा प्रतिष्ठानले नै प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनलाई प्रदान गर्ने कार्यक्रम छ।
यसअघि यो पुरस्कार राणा शासन फाल्न योगदान दिएका जिउ”दा सहिद रामहरि शर्मा, माओवादी अध्यक्ष पुष्कमल दाहाल र विश्व साइकल यात्री पुष्कर साह एवम् युवा वाचन शिरोमणि दीनबन्धु पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको थियो। – नागरिक